बडादसैँ प्रारम्भ, पहिलो दिन आज घटस्थापना

नेपालीको महान् चाड बडादसैँ आइतबारदेखि विधिवत् रूपमा सुरु भएकाे छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म मनाइन्छ । बडादसैँको पहिलो दिन आज आइतबार घर घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको शुभ साइत आइतबार बिहान ११:४७ बजे उत्तम रहेको छ । बडादसैँको पहिलो दिन प्रतिपदा आज नवदुर्गाको पहिलो स्वरूप दुर्गादेवी शैलपुत्रीको पूजा गरिन्छ । तामा वा माटोको कलशमा गोबर टाँसेर जौ, मकै र गहुँ छरेर जमरा राखिन्छ ।

दोस्रो दिन द्वितीयामा नवदुर्गाको दोस्रो स्वरूप देवी ब्रह्मचारिणीको पूजाआराधना गरिन्छ । ज्ञान, तपस्या र वैराग्यकी देवीका रूपमा उनको उपासना गर्ने परम्परा छ । तेस्रो दिन तृतीयामा देवी चन्द्रघण्टाको पूजा गरिन्छ । चौथो दिन चतुर्थीमा देवी कुष्माण्डाको पूजाआराधना गरिन्छ । ब्रह्माण्ड उत्पन्न गर्ने शक्तिकी देवीका रूपमा उहाँलाई पुजिन्छ । यस दिन घटस्थापनामा राखिएको जमरामा विशेष पूजा गरी जल चढाउने गरिन्छ । पाँचौँ दिन पञ्चमीमा शिवपुत्र कुमार (स्कन्द) की माता देवी स्कन्दमाताको पूजा गरिन्छ । माता र पुत्रको स्नेहको प्रतीकका रूपमा यो दिनलाई लिइन्छ ।

छैटौँ दिन षष्ठीमा महर्षि कात्यायनकी छोरीका रूपमा जन्मिएकी देवी कात्यायनीको पूजा गरिन्छ । यस दिनदेखि दसैँको रौनक अझ बढ्छ र विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्न थाल्छ । सातौँ दिन सप्तमीमा नवदुर्गाको उग्र स्वरूप देवी कालरात्रिको पूजा गरिन्छ । यस दिनदेखि सरकारी कार्यालयहरूमा दसैँको सार्वजनिक बिदा सुरु हुन्छ । आठौँ दिन अष्टमीलाई महाअष्टमी भन्दै दुर्गादेवी महागौरीको विशेष पूजाआराधना गरिन्छ । यस रातलाई ‘कालरात्रि’ को रूपमा रातभर पूजा गर्ने चलन पनि छ ।

दसैँघर र शक्तिपीठहरूमा देवीलाई बोका, राँगा, कुखुरा वा हाँसको बलि चढाइन्छ । बलि नदिनेहरूले कुभिन्डो, घिरौँलाको बलि दिने गर्छन् । यसै दिन सवारीसाधन र हातहतियारको पनि पूजा गरिन्छ । नवौँ दिन नवमीलाई महानवमी भनी नवदुर्गाको अन्तिम स्वरूप देवी सिद्धिदात्रीको पूजा गरिन्छ । दसौँ दिन दशमीलाई विजयादशमी भन्दै धुमधामसँग बडादसैँ मनाइन्छ । यस दिन देवी दुर्गाले महिषासुर र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा यो पर्व मनाइन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.