कैलालीमा गठबन्धन दलहरूलाई भागबण्डा मिलाउन सकस

कैलाली । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएर लागेका भएपनि भागबण्डामा कुरा मिलेको छैन । कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी स्थानीय तहमा उमेदवारको भागबण्डा मिलाउन पटक–पटक बैठक बसे । तर, हालसम्म  गठबन्धनका दलले आ–आफ्नै दाबी बैठकमा प्रस्तुत गरिरहेका छन् ।

दलहरुले आ–आफ्नो दाबी नछोड्दा पालिका तहको प्रमुख उपप्रमुखमा भागबण्डा गर्न सकस भइरहेको हो । गठबन्धन दलबीच औपचारिक अनौपचारिक रुपमा पटकपटक बैठक तथा छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ । जिल्लामा यसअघिको निर्वाचनमा विजयी भएकाबाहेक चार तहमा नेपाली कांग्रेस र चार तहमा नेकपा माओवादी केन्द्रले प्रमुखमा दाबी गरेको छ । एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले पाँच पालिकाको प्रमुखमा दाबी गरेको छ ।

कतिपय दलले आफ्नो हैसियतभन्दा बढी पालिका प्रमुखमा दाबी गर्दा सहमति जुटाउन समस्या भएको नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले बताए । उनले भने ‘नेकपा माओवादी केन्द्रको दाबी जायज देखिए पनि नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा बढी दाबी गर्दा समस्या भइरहेको छ ।’

नेकपा माओवादी केन्द्रका नेता रमेश धामीले गठबन्धन दलका बीच निरन्तर बैठक छलफल भइरहेको भए पनि आजसम्म सहमति जुट्न नसकेको बताए । ‘सकभर तालमेल गरेर चुनामा होमिन्छौँ’, धामीले भने, ‘तालमेल हुन नसके गठबन्धन दलबीच नै स्वास्थ्य प्रतिस्पर्धा गर्छौं, गठबन्धन बाहिरका दलसँग तालमेल गर्दैनौँ ।’ उनले गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पालिकाको प्रमुख, उपप्रमुखमा नभई वडाध्यक्ष र सदस्य पदमा दाबी गरिरहेको उनले बताए ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले सात, कांग्रेस तीन, नेकपा माओवादी केन्द्र दुई तहको प्रमुखमा विजयी भएको थियो । एक तहको प्रमुखमा विजयी तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ ।एकीकृत समाजवादीको साङ्गठनिक अवस्था र जनाधार स्पष्ट नहुँदा पनि सहमति जुटाउन समस्या देखिएको जनाइएको छ । पालिका तहमा उमेदवार हुने सबै दलका आकाङ्क्षी बढ्दा पनि दलहरु बीच सहमति जुटाउन सकस भइरहेको जनाइएको छ । अघिल्लो निर्वाचनमा पाएको मतभारको विश्लेषण अध्ययन गरेर उमेदवार टुङ्गो लगाउने प्रयास दलहरुबीच भइरहेको छ ।

पाँच दलीय गठबन्धन बाहिर रहेको नेकपा एमालेले पनि राप्रपा र परिवार दललगायतसँग चुनावी तालमेल गरेर जाने विषयमा छलफल गरिरहेको छ । ‘राप्रपा र परिवार दललगायतसँग छलफल भइरहेको भए पनि ठोस सहमति बन्न सकेको छैन’, एमाले नेता रणबहादुर चन्दले भने, ‘एमालेले सकभर एक्लै चुनावमा जाने तयारी गरिरहेको छ ।’

सो पार्टीले अहिलेसम्म जिल्लामा आफ्ना उमेदवार टुङ्गो लगाउन सकेको छैन । आइतबार बस्ने एमाले प्रदेश समितिको बैठकले उम्मेदवारको टुङ्गो लगाउन सक्ने बताइएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रभाव रहेको क्षेत्रका तीन पालिकाको प्रमुखमा उठ्ने उमेदवारको टुङ्गो लगाइसकेको छ । टीकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाको प्रमुखमा उठ्ने उमेदवारको टुङ्गो लगाइसकेको सो पार्टीका जिल्ला अध्यक्ष कैलाश चौधरीले जानकारी दिए । उक्त पार्टीले जिल्लाका १३ पालिमामध्ये ११ मा आफ्ना उमेदवार उठाउन लागेको जनाइएको छ ।

जिल्लाको पूर्वी क्षेत्र टीकापुर र आसपासका क्षेत्रमा उक्त पार्टीको सङ्गठन बलियो मानिन्छ । विसं २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेशमलाल चौधरी सो क्षेत्र (कैलाली क्षेत्र नं १)बाट अत्यधिक मतसहित विजयी भएका थिए । एक प्रदेशसभा सदस्यमा पनि उक्त पार्टी विजयी भएको थियो । रासस

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.