धनगढी । आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा पाँच दलीय गठबन्धन गर्ने सहमति भएपनि नेपाली काँग्रेसले सबै १३ वटै पालिका प्रमुखमा आफ्नाे दावी गरेपछि अन्य दलहरु अच्चम्ममा परेका छन् । आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र, २०७४ सालको मतपरिणाम, संगठन संरचनाको प्रभाव, नयाँ घोषणापत्र लगायतलाई आधार मान्दै गठबन्धन गर्ने सहमति भएकाे भएकाे थियाे ।
नेपाली काँग्रेस कैलाली सचिव केशव मिश्रले वडातहदेखि नै १३ वटै स्थानीय तहमा गठबन्धन गर्ने सहमति भएको जानकारी दिए । बैठकमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीले पाँच वटा स्थानीय तहमा आफ्नो दाबी गरेको छ । एसले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको छ। नेकपा माओवादी केन्द्रले काँग्रेसको माग दाबीका आधारमा आफूहरुले स्थानीय तहमा दाबी गर्ने प्रतिक्रिया दिएको उनले बताए ।
यद्यपी माओवादी केन्द्रले २०७४ सालमा विजयी भएका दुई वटा स्थानीय तह नछोड्ने दाबी गरेको छ।२०७४ सालको निर्वाचनमा भजनी नगरपालिका र कैलारी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । ‘दुई वटा स्थानीय तह छोड्दैनौँ । काँग्रेसको माग दाबी आधारमा अन्य स्थानीय तहमा पनि हाम्रो दाबी रहने छ’ माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज हरि ज्ञवाली ‘अखण्ड’ ले भने ।
बैठकमा काँग्रेसले अहिलेसम्म १३ वटै स्थानीय तहमा आफनो दाबी रहने प्रतिक्रिया दिएको थियो । सचिव मिश्रले भने –‘हाम्रो १३ वटै स्थानीय तहमा दाबी रहेको छ । यद्यपी अब हामीले सबै तहमा प्रक्षेपण गरेरमात्र अघि बढ्छौँ ।’ उनले काँग्रेसले ३० गतेको बैठकमा केही स्थानीय तह अन्य दललाई दिने वा नदिने भनी निर्णय गर्ने बताए ।
यस्तै, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा कुनै दाबी गरेका छैनन । राष्ट्रिय जनमोर्चा पार्टीले स्थानीय तहको नगर प्रमुख तथा उपप्रमुखमा दाबी नगरेपनि गठबन्धनमा आफ्नो सहभागिता जनाउन केही स्थानीय तहको वडामा उम्मेदवार बनाउन माग गरेको थियो ।
बैठकमा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष दीर्घ सोडारी, कैलाली जिल्ला अध्यक्ष भैरव रावल, माओवादी केन्द्र कैलाली जिल्ला इन्चार्ज ‘अखण्ड’, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, काँग्रेसका तर्फबाट उपसभापति भीम बडुवाल, सचिव मिश्र, जनमोर्चाबाट जगतराज जोशी र जसपाबाट होरीलाल चौधरी सहभागि रहेका थिए ।