धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले मन्त्रीमण्डल पुनर्गठन गरेका छन । जसमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा काँग्रेसलाई पनि सहभागी गराइएको हो।
मुख्यमन्त्री भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त गरेका छन्। यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा एकीकृत समाजवादीकै कुलबीर चौधरी, आर्थिक मामला राज्यमन्त्रीमा अमर साउद नियुक्त भएका छन्। सामाजिक बिकास राज्य मन्त्रीमा भने काँग्रेसका टेकबहादुर रैका नियुक्त भएका छन्।
यसअघि एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको हो। उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो। यस्तै राज्यमन्त्री चुनकुुमारी चौधरी, अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छिन् भने सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजबादीले फिर्ता बोलाएको थियाे।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई आजै सपथ खुवाइएको छ। यसअघि सुदूरपश्चिम प्रदेशमा काँग्रेसले आफूलाई सरकारमा सामेल नगराएकाले स्थानीय निकायको चुनावमा गठबन्धन हुन नसक्ने बताउँदै आएको थियो।