धनगढी । स्थानीय तह निर्वाचन नजिकिएसँगै सुदूरपश्चिम प्रदेशका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा सत्ता गठबन्धनकाे दाेस्राे ठूलाे दल नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आफ्ना नेता तथा कार्यकर्तालाई गाउँ केन्द्रित गर्दै चुनावी कार्यक्रम आक्रामक रुपमा अगाडी बढाईरहेकाे प्रदेश पार्टीले बताएकाे छ ।
केही समय अगाडि सहर, बजारमा मात्रै देखिने नेताहरु अहिले गाउँ केन्द्रित भएका छन्। चुनावका लागि सक्रिय भएर मतदाताको घरदौलोमा पुग्ने अभियान सुरु गरेको डाेटी जिल्ला ईञ्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य शिव सिं ओलीले बताए ।
प्रदेशका ८८ वटै स्थानीय तहमा पार्टी संगठन विस्तार तथा कार्यकर्ता भेलाबाटै मतदातासम्म पुग्ने अभियान सञ्चालन गरिएको उनकाे भनाई छ।
चुनावी कार्यक्रम अभियानमा केन्द्रीय नेतासँगै प्रदेशस्तरिय नेताहरु सक्रिय रुपमा लागेको माओवादी केन्द्रका अर्का नेता लक्षिराम आचार्यले बताए। ‘अहिलेको चुनावमा हामी आक्रामक रुपमा लागेका छौं,’ उनले भने, ‘पार्टी संगठन विस्तार र आफ्ना चुनावी एजेण्डासहित हामी मतदाताको माझँमा छौं।’
यसअघि ०७४ मा भएको निर्वाचनमा सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये १० मा माओवादी केन्द्रले नेतृत्व जितेकाे र विकास निर्माणदेखि सुशासन कायम गर्नमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह देशमै उत्कृष्ठ आएपछि पार्टीका नेता कार्यकर्ता थप उत्साहित भएर जनता माझ पुगेका हुन् । यसैमा माओवादी नेतृत्व रहेकाे सुदूरपश्चिम प्रदेश सरकारले गरेका थुप्रै राम्रा कामले माओवादी केन्द्र एक्लै पनि प्रदेशका धेरैजसाे स्थानीय तहमा जित्न बल मिलेकाे उसकाे दावी छ ।