धनगढी उपमहानगरकाे उपप्रमुखसहित ६ वडामा माओवादीकाे दावी

चुनावी तालमेल

धनगढी। आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै धनगढी उप–महानगरपालिकामा सत्तारुढ दलहरूबीच तालमेलकालागि तयारी सुरू भएको छ।

सुदूरपश्चिम प्रदेशकै एक मात्र उप महानगरपालिका धनगढीमा तालमेलकालागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सामेल हुने गरी छलछल भैइरहेकाे स्थानीय एक नेताले बताएका छन् । उनका अनुसार तालमेलका लागि दुई चरणमा छलफल समेत भइसकेको छ । छलफलमा काँग्रेसले नगर प्रमुख र उप प्रमुखसँगै बहुमत वडा आफूलाई मागेको छ । तर, माओवादी र समाजवादीले भने उप प्रमुख कांग्रेसलाई दिन नसकिने अडान राखेका छन् ।

माओवादी केन्द्रले नगर उपप्रमुखसहित ६ वटा वडा माग गरेको स्रोतले जनाएको छ । नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले पनि तालमेलको सम्भावना प्रवल भएको र आज वा भोलिसम्म टुङ्गो लाग्ने बताए । ‘यो विषयमा केन्द्रमै छलफल भइरहेको छ,’ उनले भने, ‘सायद आज बेलुका वा भोलिसम्म निर्णय हुन्छ होला ।’

उनले नगर प्रमुख, उपप्रमुख सहित १२ वडा काँग्रेसले पाउनुपर्ने माग रहेको बताए ।‘अघिल्लो चुनावमा काँग्रेसले धनगढीको प्रमुख, उपप्रमुखसँगै १२ वडामा जित हासिल गरेको थियो,’ जिल्ला सभापति भट्टले भने, ‘ती स्थान यथावत हुने गरी सहमति हुन्छ होला ।’ सभापति भट्टकाअनुसार माओवादी केन्द्रलाई यसअघि धनगढीमा जितेका पाँच वडा दिने र समाजवादीलाई एमालेले जितेका तीन वडा दिने गरी छलफल भएको छ ।

धनगढी उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मेयरका उम्मेदवार गोपाल हमाल यस पटक बलियो उम्मेदवारका रुपमा छन् । चैत देखिनै टोलटोलमा प्रचार गरेर जनतामा गइरहेका हमाललाई एक्लै पराजित गर्न नसकिने काँग्रेसको बुझाई छ । सोहीअनुसार तालमेलका लागि कुरा चलेको नेताहरू बताउँछन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि गोपाल हमाल मेयर पदमा स्वतन्त्र लडेका थिए । उनी धनगढीका मेयर नृप वडसँग दुई हजार सात सय मतले पराजित भएका थिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.