‘चरित्रमा दाग नलागुन्जेलसम्म अनेक रंग पोतेर केही फरक पर्दैन’
धनगढी । कैलालीको पचमुडिया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितले कालोमोसो दल्नेलाई खुला चुनौती दिएका छन् । उनले कालाेमोसो दल्नेहरूलाई समाज रूपान्तरणको औकात भए खुला बहस गर्न चुनौती दिएका हुन् ।
सोमबार अधिकृत पण्डितलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका थिए । उनले कालोमोसो दलेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रमा दाग नलागुन्जेलसम्म अनेक रंग पोतेर केही फरक नपर्ने पनि बताएका छन् । साथै, चन्दा आतंकको विरोध गरेकाले विप्लवका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको पण्डितको दाबी छ ।
‘नेकपा (विप्लव) समूहका कथित केही थान व्यक्तिहरूले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुरअन्तर्गत पचमुडिया सवडिभिजन वन कार्यालयमा कार्यरत रहँदाको अविस्मरणीय रहने छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनि कार्यहरू छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरू र जनअदालतको कठघरामा उभिन तयार छु । अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।’