कञ्चनपुरमा कोरोना संक्रमितको सङ्ख्या वृद्धि भएसँगै जटिल अवस्था बाहेकका संक्रमितलाई यहाँको होल्डिङ सेन्टरमा राख्ने प्रबन्ध मिलाइँदैछ । सरकारले गत माघ दुई गते होल्डिङ सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन लगायत जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि बनाएर होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको हाे ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले गड्डाचौकीमा कोरोनाको परीक्षण दिनहुँ भइरहेको बताए । ‘वडा कार्यालयको सिफारिसमा लक्षण नदेखिएका संक्रमितहरूलाई होम आइसोलेसनमा पठाउने गरिएको छ’, प्रजिअ पाण्डेले भने, ‘वडामा पनि स्वास्थ्यकर्मीहरूले संक्रमितको निगरानी गर्ने गरेका छन् ।’ मुख्यमन्त्री वा प्रदेश सामाजिक विकास मन्त्रीको नेतृत्वमा कार्यविधि बनाएर होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।
यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रायलले सबै पालिकालाई २५ बेडको आइसोलेसन बनाउन पत्राचार गरेपनि अधिकांशले वास्ता गरेको देखिँदैन ।तर कञ्चनपुरमा बेलौरी नगरपालिकाले ५० बेडको आइसोलेसन वार्ड बनाएको खबर आएको प्रजिअ पाण्डेले बताए । यहाँको सालघारीमा होल्डिङ सेन्टर निमार्णको जिम्मेवारी पाएको हनुमान कन्ट्रक्सनका प्रतिनिधी लक्ष्मण सापकोटाले निमार्ण अन्तिम चरणमा पुगेको बताए ।
‘एक हजारमध्ये ५५६ बेड तयार भइसकेका छन’, उनले भने, ‘अरू सामान आएर काम हुनुका साथै अब निर्माण अन्तिम चरणमा पुगेपनि आर्थिक कारणले ढिलाइ भएको छ ।’ उनले सरकारले रकम निकास नगर्दा चार महिनादेखि काम गरेको रकम नपाएको बताए ।