त्यो कालो दिनको यथार्थ – महेश्वर दाहाल

महेश्वर दाहाल

आज पौष २१ गते, कालो दिन ! जनादेश साप्ताहिकमाथि राज्यद्वारा आक्रमण भएको दिन । २०५५ सालको आजकै दिन ललितपुरको भट्टेडाँडाको प्रहरीचौकीमा माओवादीद्वारा गरिएको आक्रमणको सचित्र समाचार लेखेबापत जनादेश कार्यालयमा प्रहरी हस्तक्षेप भएको थियो । त्यस दिन जनादेशका कम्प्युटरसहितका सामग्री कब्जा गरिए । कार्यालयबाट वरिष्ठ पत्रकार शक्ति लम्सालसहितका संचारकर्मीहरु गिरफ्तार भए ।

०५३ पौष १९ गते रामेछापको बेथान प्रहरी चौकीमाथि माओवादीको सफल आक्रमण भएको थियो । आफ्ना कमान्डर तीर्थ गौतमसहितका तीन जना जनयोद्धाको शहादतका बाबजुद उक्त चौकी कब्जा गरिएको थियो । त्यस दिनलाई माओवादी पार्टीले वीरता दिवसका रुपमा मनाउँथ्यो । त्यसै दिनको स्मरणमा ०५५ पौष १९ गते माओवादीले ललितपुरको भट्टेडाँडा प्रहरी चौकीमा अर्को आक्रमण ग¥यो । राजधानी काठमाडौंसँग जोडिएको जिल्लामा भएको यो सफल आक्रमणले राज्य पूरै हल्लियो । र, लगत्तै राजधानी र आसपासमा राज्यले चरम दमन ग¥यो । उक्त आक्रमणको सचित्र समाचार जनादेशमा प्रकाशित भएपछि जनादेशमाथि आक्रमण गरियो ।

घटनाको भोलिपल्ट पौष २० गते पार्टी नेता यानप्रसाद गौतम ’आलोक’ले फोटोहरु र घटना विवरण टिपोट गरी जनादेश कार्यालयमा पठाएका थिए । त्यसलाई मुख्य समाचार बनाउन सम्पादक कृष्ण सेनले मलाई अराए । जब म समाचार लेख्दै थिएँ, सुरेश आले मगर ’आज मेरो बास यतै हुन्छ’ भन्दै कार्यालयमा ठूलै झोला बोकेर आई पुगे । जनादेशका नियमित स्तम्भकार उनी त्यतिबेला संग्राम चेपाङका नाममा व्यंग्य स्तम्भ समेत लेख्थे । उनको पाटनतिर डेरा थियो । तर, भट्टेडाँडा घटनाका कारण पार्टीका चिनिएका सक्रिय नेता, कार्यकर्तालाई ललितपुर नबस्न पार्टीको उर्दी थियो ।

तपाईंहरु जहाँ बस्नुहुन्छ, म त्यहीँ बस्छु भन्दै आएका आले मगरले झोला बिसाउन नपाउदै मैंले भनें– तपाईं यहाँ नबस्नुस् । मैले बस्न नमिल्ने कारणबारे प्रकाशित हुँदै गरेको उक्त समाचार र फोटोहरु देखाएँ । समाचार छापिनु लगत्तै राज्यले हामीमाथि आक्रमण गर्छ भन्ने मेरो ठम्याइ थियो । उनी कता जाने भनेर बिलखबन्द भए । चिनेका र आफन्तले समेत माओवादी भनेपछि बास दिने सम्भावना त्यतिबेला थिएन । बागबजार घर भएका आत्मीय साथी श्याम श्रेष्ठकोमा जान मैले आले मगरलाई भनें ।

मैले समाचार लेखिसकेपछि वरिष्ठ पत्रकार तारा न्यौपानेलाई सुनाएँ । मैले ’भट्टेडाँडामाथि अभुतपूर्व आक्रमण’ शीर्षकमा समाचार लेखेको थिएँ । तर, न्यौपानेले ’साहसिक आक्रमण’ भन्नु ठीक हुन्छ भने । उक्त समाचार कम्प्युटर कोठामा पठाइयो । समाचारको अन्तिम सम्पादन कृष्ण सेनले गरे । त्यतिबेला जनादेशको पूर्णकालीन पत्रकारका रुपमा कृष्ण सेनसहित म, गोविन्द आचार्य, दीपक मैनाली, निमबहादुर बुढाथोकी, दीपेन्द्र रोकाय, केशव मार्मिक र धनबहादुर मगर थियौं ।

पत्रिका प्रेसमा गएपछि सेन र म नजिकै रहेको दीपक मैनालीको कोठामा सुत्न गयौं । त्यो रात मलाई निकै खुल्दुली चल्यो । निन्द्रा लागेन । भोलिपल्ट चार बजे नै उठेर नजिकैको इन्द्रेणी प्रेसबाट २५,३० प्रति पत्रिका बोकी दुई पाकेट दूध र ताजा माल पुवा बोकेर कोठामै फर्किएँ । चिया पकाएँ । र, सेन र मैनालीहरूलाई खान बोलाएँ । चिया नास्तापछि ’अब निस्कौं’ भन्दा सेनले मानेनन् । कार्यालयमै बिहान नौ बजे पश्चिमबाट आएका एक पार्टी नेतासँग उनको भेट्ने तय रहेछ । संचार सुबिधा सहज नभएकाले समय बदल्ने सम्भावना थिएन ।

मैनालीजीको भन्दा पल्लो कोठामा बस्ने हाम्रा नियमित स्तम्भकार देवेन्द्र तिम्लासहित भएर हामीले त्यो दिनको पत्रिकाको समीक्षा ग¥यौं । र, माओवादीविरुद्धको देशब्यापी चरम दमन अनि भट्टेडाँडा आक्रमण समाचारका कारण पत्रिकामाथि पनि राज्यदमन हुने निष्कर्ष निकाल्यौं । त्यसैले हामी सेन तुरुन्त त्यो एरियाबाट निस्कियुन भन्ने चाहन्थ्यौं । तर, उनी निस्किएनन् । त्यसैले साँझ भीम केसी र राधिका केसीको कलंकीस्थित घरमा भेट्ने सल्लाहले म आफ्नो डेरा कुलेश्वरतिर गएँ । प्रहरीले निरन्तर छापा मारिरहने कारणले म घरमा नबसी कुलेश्वरमा डेरा गरी बस्थें ।

खाना खाएर कार्यालयमा फोन गर्दा फोन लगातार बिजी आयो । मैंले सोचें– समाचारको प्रभावका कारण फोन बिजी भयो । सबै ठीकै त छ, मैले अनावश्यक डर महसुस गरेंछु भन्ने प¥यो । तर, पछि बुझ्दा प्रहरीले कार्यालयमा आएर फोन होल्ड गरिदिएको रहेछ । म कुलेश्वरबाट बस चढेर रत्नपार्क झरी बागबजार कार्यालयतिर अगाडि बढ्दै गर्दा पत्रकार डिल्ली बसेलसँग सडकबीचमा जम्काभेट भयो । आत्तिएको भावमा उनले मलाई सडकबीचबाटै तानेर सुरक्षित हुन भने । उनले जनादेशमाथिको प्रहरी दमन, दमन मात्रै के भन्नु ताण्डब आतंक भर्खर देखेर आएका रहेछन् । तर, सेन भने प्रहरी पुग्नु अगाडि नै कार्यालयबाट निस्किसकेका रहेछन् ।

त्यसपछि म तुरुन्तै त्यहाँबाट कुलेश्वर फर्किएँ । र, केही क्षण त्यतै अल्मलिई सेनसँगको पूर्व निर्धारित भेटका लागि कलंकी गएँ । पत्रिकाको सामग्री र प्रहरी दमनको हल्का समीक्षा गर्दै हामी सुरक्षित हुन कालोपुलस्थित मेरा एक आफन्तकोमा पुग्यौं । गोबिन्द आचार्य भक्तबहादुर श्रेष्ठको डेरासँगै डल्लुमा बस्थे । श्रेष्ठमार्फत आचार्यसँग फोन सम्पर्क भएपछि सेनलाई बीबीसीले पत्रिकामाथिको दमनबारे सोध्न चाहेको जानकारी भयो । बीबीसीसँग सेनको सम्पर्कका लागि मैले मालीगाउँका अर्का मेरो आफन्तको नम्बर दिएँ । तर, सेनले मलाई नै बीबीसीसँग बोल्न भने । मैले बीबीसीलाई पत्रिकामाथिको राज्यआतंकबारे प्रष्ट प्रतिक्रिया दिएँ ।

पत्रिकाको कम्प्युटर र लिखित सामग्री प्रहरीले जफत ग¥यो । सेन र मेरो चौतर्फी खोजी भयो । गिरफ्तार शक्ति लम्साललाई समाचार लेखक महेश्वर दाहाल (मेरो हस्तलेखन हेरेर) को घर देखाउन प्रहरीले दबाब दिएको र कताकती मेरा अक्षरसँग अशोक सुवेदीको समेत हस्तलेखन मिलेकोमा प्रहरीले यातना दिएको स्मरणपछि उनीहरुले सुनाए । म र शक्ति लम्साल छिमेकी भएकोले मेरो घर देखाउन उनलाई दबाब दिएको बुझियो । तर, आफूले घर एरिया बिर्सिसकेको बताएर घर देखाउन इन्कार गरेको लम्सालले पछि मलाई बताए ।

प्रहरीको अत्याधिक खोजीका कारण अब सेन र म लामो समय आफ्नो डेरा वा आफन्तकोमा बस्ने परिस्थिति भएन । हामीले लगनटोलमा डेरा लियौं । महिमाका सम्पादक कुमार राउतले नयाँसडकमा पत्रिकाको सम्पर्क कार्यालयको ब्यबस्था गरिदिए । हामी त्यहीँबाट पत्रिकाको काम गथ्र्याैं । हामीले जनादेश निरन्तर निकाली राख्यौं । तर, चार महिनापछि खिचापोखरीमा खाना खाएर निस्कदै गर्दा सेनलाई भट्टेडाँडा समाचारकै कारण प्रहरीले गिरफ्तार ग¥यो । सेनलाई दुई बर्षसम्म जेलमा राखियो । समाचार लेखे लगत्तै हाम्रा स्तम्भकार दण्डपाणि न्यौपाने र पूर्व प्रबन्ध सम्पादक मिलन नेपालीलाई गिरफ्तार गरी हालसम्म बेपत्ता बनाइएको छ ।

पत्रिकामाथिको आक्रमण र सेन लगायतको गिरफ्तारीविरुद्ध नेपाल पत्रकार महासंघले सशक्त आवाज उठायो । महासंघको सकारात्मक भूमिकाले हामी उत्साहित थियौं । मैंले पत्रकार महासंघको सचिवमा उम्मेदवारी दिएँ । पछि सभापति समेत भएका बिष्णु निष्ठुरीसँग झिनो मतले हारे पनि त्यो मेरो खुला जीवनका लागि राजनीतिक विजय थियो । पत्रकार महासंघको र संचारसंबद्ध निकायको चर्को दबाबपछि केही समयपछि सेन रिहा भए ।

यो घटना भएको पनि आज २३ बर्ष पूरा भएछ । सेन, न्यौपाने, नेपाली लगायत हजारौंको बलिदानले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । त्यतिबेलाको घटनाका साक्षी शक्ति लम्साल र तारा न्यौपाने पनि आज हामीबीच छैनन् । हामी वलिदानी जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, शान्तिप्रक्रिया, नयाँ संविधान र सामाजिक न्याय हुँदै वैज्ञानिक समाजवाद र साम्यवादसम्मको बाँकी कार्यभार पूरा गर्न पत्रकारिता र राजनीतिको मोर्चामा जीवन्त खटिरहेका छौं, खटिरहनेछौं ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.