धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको लागि राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट रिक्त रहेको महिला सदस्यमा बाम लाेकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा एकीकृत समाजवादीकी गरिमा शाह, दलित सदस्यमा नेकपा माओवादी केन्द्रका जगत पार्की र खुला सदस्यमा नेपाली काँग्रेसका नारायण मिश्रले उम्मदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ।
यसअघि एमालेले पनि उम्मेदवारी दर्ता गरेको थियो। महिलातर्फ कैलालीकी सन्तोष शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन्। राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते निर्वाचन हुनेछ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीन जना राष्ट्रियसभा सदस्यको ४ वर्षे पदावधि फागुन २० गते सकिदै छ। राष्ट्रिय सभा ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार माघ १२ गतेका लागि निर्वाचन तोकिएको हो।
प्रदेशमा राष्ट्रियसभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि गठबन्धन दल र एमाले नेता कार्यकर्तासहित निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको थियो ।