धनगढीमा ‘सुदूरपश्चिम महोत्सव’ माघ १८ गतेदेखि हुने

धनगढी । कैलालीकाे धनगढीमा माघ १८ गतेदेखि ‘सुदूरपश्चिम महोत्सव’ हुने भएको छ। २०६३ सालदेखि निरन्तर आयोजना भइरहेको सुदूरपश्चिम महोत्सव पछिल्लाे दुई वर्ष कोरोनाका कारण स्थगित भएपनि यस वर्ष १५औं संस्करणका रुपमा माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हाे।

यस वर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव हुनेछ, महोत्सवमा वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधिसँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज कुँवरले जानकारी दिए ।

महोत्सवमा अनुमानित १ करोडको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिने जनाएको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेकट्रोनिक, होटेल र सूचना प्रविधि गरी ४ सय भन्दा बढीको संख्याको स्टलहरू रहनेछन् । यस्तै महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने छ भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मूल समिति सहित २१ उप समिति समेत गठन गरेको र महोत्सवमा १५ करोड बढीको कारोबार हुने आयोजकले अपेक्षा लिएको  छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.