काँग्रेस महाधिवेशनमा दाेस्राे मतदान जारी, केही बेरमै मतगणना हुने
काठमाडौं । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि दोस्रो चरणमा भएकाे मतदान जारी छ । सुरुकाे डेढ घण्टामा १ हजार मत खसेको छन्। मतदानकाे समय सकिने बित्तिकै मत गणना सुरु गरिने बताईएकाे छ ।
पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारका पक्षमा ५० प्रतिशत नपुगेपछि दोस्रो चरणमा मतदान सुरु भएको डेढ घण्टामा १ हजार मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए।कांग्रेस विधानमा सभापति चयन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नु पर्ने व्यवस्था छ। दोस्रो चरणको मतदानका लागि दुई जना मात्र उम्मेदवार छन्। पहिलो चरणमा शीर्ष मत प्राप्त गर्नेहरू क्रमशः शेरबहादुर देउवा र डा शेखर कोइराला चुनावी मैदानमा छन्।
पहिलो चरणबाट आउट भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले वर्तमान सभापति देउवालाई नै दोहोर्याउनका लागि समर्थन गरेको बताएका छन्। डा शेखरलाई भने पहिलो चरणको भन्दा थप समर्थन प्राप्त भएको छैन। यद्यपि डा शेखरले अन्तरात्मालाई सोधेर मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।