उपलब्धि उपभाेग गर्ने तर, क्रान्ति नस्वीकार्ने बिरुद्ध अर्काे क्रान्ति आवश्यक
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले माओवादीकाे जनयुद्धले ल्याएका उपलब्धि उपभाेग गर्ने तर, क्रान्ति नस्वीकार्ने बिरुद्ध पुन: अर्काे क्रान्ति जरुरी रहेकाे बताएका छन् । जनक्रान्तिका घाईते अपाङ्ग याेद्धा संगठन नेपालकाे सुदूरपश्चिम प्रदेशमा बिहीवार प्रथम सम्मेलनकाे उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।
माओवादीकाे बलिदानीपूर्ण जनयुद्धले ल्याएकाे संघीयता, समावेशी समानुपातिक व्यबस्था, धर्मनिर्पेक्षता लगायतका प्रणाली अन्य पार्टी नेताहरुले उपभाेग गरिरहेकाे तर त्याे जनयुद्ध क्रान्तिलाई स्वीकार्न हिच्किचाउने प्रबृतिले नीतिअनुसारकाे नेतृत्व दिन नसकेकाे भन्दै माओवादीका केन्द्रीय नेता समेत रहेका मुख्यमन्त्री भट्टले भने-‘जसले गर्दा समाजमा अग्रगमन र पाश्चगमनबीच द्वन्द्ध मात्रै बढाइरहेकाे छ, त्यसैले परिवर्तित ब्यवस्थाअनुसार जनयुद्धले ल्याएका उपलब्धि उपभाेग गर्ने तर क्रान्ति नस्वीकार्ने बिरुद्ध पुन:अर्काे क्रान्ति जरुरी रहेकाे छ ।’
आफु प्रदेश सरकारकाे मुख्यमन्त्री भएपनि यस्तै प्रबृतिले साेचे जत्तिकाे काम गर्न नसकेकाे उनकाे भनाई थियाे । संघीय सरकारले कहिले प्रदेशसँगका सामुहिक अधिकार नदिंदा त कहिले कर्मचारी नपठाएर असहयाेग गरिरहेकाे मुख्यमन्त्रीकाे गुनासाे थियाे । सम्मेलनलाई माओवादी केन्द्रका नेता तथा मन्त्री सांसदहरुले समेत सम्बाेधन गरेका थिए । जनक्रान्तिका घाईते अपाङ्ग याेद्धा संगठन नेपालकाे प्रथम सम्मेलनकाे बन्दसत्रले गम्भीर थापालाई अध्यक्षमा सर्वसहमत चयन गरेकाे छ । थापा यसअघि पनि साे संगठनकाे प्रदेश संयाेजक थिए ।