बाढी पहिराेमा फसेकाकाे उद्धारमा तत्पराता दिन मुख्यमन्त्री भट्टकाे निर्देशन

प्रधानमन्त्रीसँग हेलिकप्टर माग

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले कैलाली कञ्चनपुर लगायतका जिल्ला प्रशासन र प्रहरी तथा नेपाली सेनालाई बाढी पहिराेमा फसेकाकाे उद्धारमा तत्पराता दिन निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेशमा अस्ति रातिदेखि परेकाे अविरल बर्षाले ठूलाे विपद् पुराईरहेकाेलाई मध्येनजर गरेर सम्भावित  दुर्घटना न्युनिकरणमा तत्परताकासाथ लाग्न उनले निर्देशन गरेका हुन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चाैधरीलाई फोेन गरेर मुख्यमन्त्री भट्टले बर्षाले पारेकाे असरबारे जानकारी लिएका थिए । यस्तै डाेटी, डडेल्धुरा, बैतडीलगायतका जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरी पहाडी जिल्लाकाे अवस्था बारे बुझेपछि स‌घीय सरकारसँग उद्धारमा हेलिकप्टर पठाइदिन अनुराेध गरेका छन् ।

मुख्यमन्त्री भट्टले प्रधानमन्त्री शेरवहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडसँग बर्षाले सुदूरपश्चिम प्रदेशमा पारेकाे असर र विपद् बारे जानकारी गराउदै कञ्चनपुरकाे महाकाली नदी, डाेटी र बैतडीमा सेती नदी र कैलालीकाे खिमडीमा फसेकाहरुकाे उद्दारमा हेलिकप्टर माग गरेका हुन् ।

यस्तै मुख्यमन्त्री भट्टले विपद्काे यस घडीमा सतर्कताकासाथ उद्धार तथा व्यबस्थापनमा तत्परताकासाथ लाग्न स्थानीय सरकारी तथा गैरसरकारी निकाय तथा संघसंस्थालाई समेत आग्रह गरेकाे मुख्यमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.