सुदूरपश्चिम प्रदेशसभा आजकाे बैठकमा तीन विधेयक पेश
धनगढी । देशका अन्य प्रदेशसभा शुन्यप्राय रहेका बेला सुदूरपश्चिम प्रदेशसभा भने ब्यस्त रहेकाे छ । आज मात्रै तीनवटा विधेयकहरु पेस भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश भएको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक पेश गरेका हुन्।
यस्तै, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदले सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गरेकी छिन्। त्यसैगरी प्रदेश सभामा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को बजेट खर्चबारे महालेखा परीक्षकले तयार पारेको वार्षिक प्रतिवेदन २०७८ पनि पेश गरिएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले सो प्रतिवेदन पेश गरेका हुन्। सो प्रतिवेदनलाई अध्ययन छलफलका लागि संसद्को सार्वजनिक लेखा समितिमा पठाइने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए।