भोट तान्न पञ्चायतकालमा शिलन्यास सडक प्रदेश सरकारले पुरा गर्याे
कर्ण चन्द
डाेटी । कैलालीकाे सहजपुरदेखि डाेटीकाे बोगटानहुँदै दीपायल जाेड्ने सडकको ट्र्याक आईतबार जोडिएको छ । २०३८ सालमा भएको ‘राष्ट्रिय पञ्चायत’को निर्वाचनदेखि चर्चामा आएको बहुप्रतिक्षित बोगटान सडककाे ट्र्याक जोडिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिएका छन् ।
०४३ सालदेखि निर्माण कार्य सुरु भएको सडक आइतबार जोडिएको हाे । बडीकेदार गाउँपालिका वडा नं. ५ लानाकेदारेश्वर र बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ का बिचमा बाँकी रहेको सडक भागमा सडक निमार्ण भएपछि आइतबार साँझ ६ :३० बजे निमार्ण कार्य सकिएकोबोगटान फुड्सिल गाउँपालिका वडा नं. १ का अध्यक्ष डम्मर घर्तिले जानकारी दिए ।
डोटीको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा ठुलो सहजपुर–बोगटान सडकले पूर्णता पाएपछि यस क्षेत्रका जनतामा खुसी छाएको छ । सिलन्याशकाे लामाे समयसम्म बजेटविना थन्किएकाे यस सडकमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको सडकमा समावेश गरी प्राथमिकताका साथ बजेट विनियोजित गरेपछि सडकले पूर्णता पाएको पूर्वाधार विकास कार्यालय डडेलधुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।
कैलालीको सहजपुर, डाेटीकाे बिपीनगर, अत्तरकाँडा, सिमचौर,चवराचौतारा, गगुुडा, तिखात्तर, बासुदेबी, वायल, रानागाउँ हुँदै दीपायल राजपुर जोडिएको छ । बोगटान सडक निर्माण कार्यक्रम अन्तरगत डबल कटिङ, पर्खाल निर्माण, नाली निर्माणको काम समेत भइरहेको उक्त सडकको ट्र्याक जोड्ने काम भइरहेको कार्यालय प्रमुख खत्रीले बताएका छन । खत्रीले भने ‘यो ट्र्याक पहिले नै जोडिन्थ्यो रक (बलियो चट्टान) लागेपछि केही ढिला भयो ।’
सुदूरपश्चिम प्रदेश सरकारको ३ करोड ८३ लाख रुपैयाँको खड्काकृष्ण, बगलामुखी र पवन निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन । उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडीकेदार, केआईसिंह, जोरायल गाउँपालिकाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् ।
यस्तो छ बोगटान सडकको राजनैतिक कथा ?
२०१५ सालपछि धनगढीबाट दिपायलका लागि सडक काट्ने काम सुरु भएको थियो । ‘धनगढी–दिपायल (डिडी) सडक’को नामले काटिन सुरु भएको सडक पञ्चायत कालमा तत्कालीन डडेलधुराका नेताहरूको पहुँचका आधारमा ‘धनगढी–डडेलधुरा–दिपायल(डिडीडी)’ नामाकरण गरेर काटिएको थियो । जसले सो सडकले बोगटान क्षेत्र जोड्न सकेन् ।
२०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साबिकका १० गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण कार्य सुरु भयो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति भरत बहादुर खड्काले सडकको शिलान्यास गरेका थिए ।
२०४८ सालमा आमनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका सिद्धराज ओझाले यही सडकलाई प्रमुख एजेण्डा बनाए । स्वर्गीय ओझा भूमिसुधार सहायक मन्त्री बने तर सडक बनेन् । सिद्धराज ओझाले २०४८, २०५१ र २०५६ सालसम्म निर्वाचन जिते । त्यस क्रममा उनी पटक–पटक मन्त्री पनि भए तर, उता सडक निर्माणको गति भने अगाडि बढेन् ।
२०६४ साल तत्कालीन नेकपा माओवादीका तर्फबाट संविधान सभा सदस्यमा विजयी उम्मेदवार खेम बमले न संविधान लेख्न मै सफल भए न बोगटान सडक निर्माण कार्यमा नै । २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ५० लाख पावर बजेट हालेपनि हात्तीको मुखमा जिरा जस्तै भयो । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा यो सडक फेरी डोटी क्षेत्र नम्बर–२ का उम्मेदबारहरुको साझा र प्रमुख एजेण्डा बन्यो । नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर आलेमगरले यही एजेन्डा उठाएर कार्यकाल भरी जसरी पनि सडक बनाउने कसम खाए । सजपुर–अत्तरकाँडासम्म कालोपत्रेको काम सुरु त भयो तर सडक अझै जोडिन सकेन ।
२०७४ सालको प्रदेश सघंको निर्वाचनमा पनि यो एजेन्डा छुटने कुरै भएन । सबै उम्मेदवारको साझा र प्रमुख एजेन्डा बन्यो । तत्कालीन बाम गठबन्धनका उम्मेदवारहरूले यो एजेन्डा लिएरै बिजयी भए जसमध्ये प्रदेश सभा ‘ख’का विजयी उम्मेदवार त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भए र उक्त सडक प्रदेश गौरवको योजनामा समावेश भयो ।
प्रदेश गौरवको सडकमा परेसंगै ट्र्याक जोड्ने काम सम्पन्न भएको छ सडक सम्पन्न मात्रै होइन बोगटानी जनतालाई सधैँ झुक्याउने एक राजनैतिक ऐजेण्डाको अन्त्यसमेत भएको छ ।