एमालेको सुदूरपश्चिम इन्चार्जमा भट्ट र रावलको आ-आफ्नै दावी
धनगढी । सुदूरपश्चिम इन्चार्जको विषयलाई लिएर नेकपा एमाले पार्टीभित्रको राजनीतिक माहोल गरम भएको छ। सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल र लेखराज भट्ट दुवैले प्रदेश इन्चार्जमा चासो देखाएपछि पार्टीमा टकराब सृजना भएको हो।
पार्टी फुटपछि पहिलाे पटक गृह प्रदेश सुदूरपश्चिम आएका एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुबैले आफु नै प्रदेश इन्चार्ज रहेकाे बताएका छन् । जसले गर्दा एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयलाई लिएर पार्टीभित्र विवाद चुलिँदै गएकाे देखिन्छ। उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति अनुसार पार्टी जेठ २ मा फर्केकाे बताइरहँदा नेता भट्ट भने हिजाेकाे एमाले अव नरहेकाे नयाँ पार्टी बनेकाे दावी गरिरहेका छन् । यद्यपि एमाले अध्यक्ष ओलीले भने सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने भनेकाे एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले बताए ।
आज धनगढीमा सम्बोधन गर्दै रावलले आफू एमाले उपाध्यक्ष र सुदूरपश्चिम इञ्चार्जको हैसियतमा रहेको बताए। ‘म पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतामा छु,’ रावलले कार्यकर्ता भेला सम्बोधनको क्रममा पटकपटक भनेका थिए। उनले बर्याती बाकराे खान आएकाले एमाले पार्टी नबुझेकाे भन्दै भने- ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरि कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन।’
उता कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा भट्टले एमाले सदूरपश्चिमको इन्चार्ज आफू नै भएको दाबी गरेका छन्। पूर्वमन्त्री समेत रहेका भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउँदै भने, ‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेका हुन्। इन्चार्जको विषयमा कुनै विवाद छैन।’