सुदूरपश्चिम प्रदेशका १३ सासंद नेकपा (एकीकृत समाजवादी)मा
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका १३ सासंद माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन्। नेकपा एमालेका १३ प्रदेश सभा सदस्य नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेर सनाखत गर्नका लागि मंगलबार प्रदेश निर्वाचन कार्यालयमा पुगेका थिए। एमाले पार्टी छोडेर नवगठित पार्टीमासनाखत गर्न निर्वाचन कार्यालय पुगेका मध्ये १० जना सासंदकाे मात्र सनाखत भएकाे छ । ३ जनाको कागजपत्र अपुग भएकाले सनाखत हुन बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताइन्।
नेकपा एमालेका सभामुखसहित २५ प्रदेशसभा सदस्य थिए। तीमध्ये यसअघि ७ जना केपी ओली पक्षमा थिए भने अन्य माधव समूहमा रहेका थिए। माधव समूहमा रहेका सवै सासंद यसअघि प्रभावशाली मानिएका नेता भीम रावलको निर्देशनमा चल्दै आएका थिए। रावलकै निकट र बिश्वासपात्र मानिएका १३ सासंद रावलको साथ छोड्दै माधवले नेतृत्व गरेको पार्टीमा खुलेका हुन्।
प्रदेश निर्वाचन कार्यालयमा औपचारिक रुपमा नेकपा (एकिकृत समाजवादी) पार्टीमा सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्री चुनकुमारी चौधरी र मनकुमारी साउँद, पूर्व मन्त्री माया भट्ट, एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, ,कुलवीर चौधरी, अमरबहादुर साउँद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी रहेका छन्।
भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, अर्चना गहतराज, प्रदेश सभा सदस्य तारालामा तामाङ कागजपत्र नभएकाले सनाखत गर्न नसकेको र उनीहरुले भोलि गर्ने जोशीले बताइन्। विगतमा माधव समूहमा रहेका एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह, पूर्व मन्त्री कृष्णराज सुवेदी, पुर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर भने नेता रावललाई साथ दिँदै एमालेमै रहने निर्णय गरेका छन्। पठानसिंह बोहरा, लिलाधर भट्ट, मायालु चौधरी, रतन थापा, बलदेव रेग्मी, माया तामाङ वोहरा र ग्याल्वुसिंह वोहरा गरी ७ सासंद यसअघि ओली पक्षमा उभिएका थिए।
एमालेका अध्यक्ष केपी ओलीको कटु आलोचक रहेका रावलले अन्तिम अवस्थामा माधवको साथ छोडेर एमाले पार्टीमै बस्ने निर्णय गरेपछि निकटका १३ सासंदले उनको साथ छोडेका हुन्। निकटका १३ सासंदले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशमा उनलाई धक्का लागेको छ। यसअघि रावलकै निर्देशनमा सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले स्थायी कमिटीको निर्देशनविपरित माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमालेका १७ जना सासंदले विश्वासको मत दिएका थिए।