सुदूरपश्चिमकाे धनगढी एयरपोर्ट १७० लाख नाफामा

धनगढी । विश्वमै सबैभन्दा महंगो पूर्वधार मानिने एयरपोर्टमा लगानी धेरै हुने र आम्दानी पनि आकर्षक हुने गरेका छन् । तर, नेपालमा फरक परिस्थिति छ । यहाँका अधिकांश एयरपोर्ट घाटामा सञ्चालित छन् । तथ्यांकअनुसार नेपालका एक अन्तर्राष्ट्रियसहित ५४ विमानस्थलमध्ये ४३ वटा घाटामा सञ्चालित छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भन्छन्–अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानीले अरुको खर्च धान्नुपर्ने स्थिति छ । यस्तो स्थितिमा विमानस्थल थप्नु भनेको घाटा बढाउनु मात्रै हो । नेपालको सबैभन्दा धेरै आम्दानी गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो, जहाँबाट ९० प्रतिशत आन्तरिक उडान हुन्छ । उक्त विमानस्थलले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । खर्च भने ७८ करोड ५१ हजार रुपैयाँ भएको जनाइएको छ । कोरोनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी करिब साढे दुई अर्बमा खुम्चिन पुगेको हो । कोरोना माहामारीअघि विमानस्थलको वार्षिक आम्दानी पाँच अर्ब रुपैयाँभन्दा माथि थियो ।

नेपालका सबैभन्दा कम आम्दानी गर्ने एयरपोर्ट हो, लामीडाँडा एयरपोर्ट । खोटाङस्थित उक्त एयरपोर्टले आर्थिक वर्ष २०७७/७८ मा ९ हजार २३० रुपैयाँ मात्र कमाएको छ । खर्च भने आम्दानीको १२५ प्रतिशतभन्दा माथिले छ । लकडाउनअघिसम्म लामीडाँडा एयरपोर्टमा हप्तामा एकपटक नेपाल एयरलाइन्सको जहाज जाने गरेको थियो । कोरोना भाइसरको पहिलो लहरसँगै भएको लकडाउनपछि त्यहाँ जहाज गएको छैन । ‘आम्दानी छैन, तर एयरपोर्ट सञ्चालनको खर्च भने भइरहेको छ’, प्राधिकरणका प्रवक्ता क्षेत्रीले भने ।

घाटामा चलिरहेको अर्को एयरपोर्ट हो– ओखलढुंगाको रुम्जाटार एयरपोर्ट । यहाँ पनि पछिल्लो समय जहाज गएका छैनन् ।मोफसलका एयरपोर्टमा सबैभन्दा बढी आम्दानी गर्नेमा पर्छ विराटनगर एयरपोर्ट । विराटनगर एयरपोर्टले आर्थिक वर्ष २०७७/८८ मा ६ करोड ५२ लाख आम्दानी गरेको छ छ । नेपालगञ्ज, पोखरा, र धनगढीका एयरपोर्ट पनि फाइदामा छन् । तर, यो फाइदा नागरिक उड्डयन प्राधिकरणको खातामा चढ्दैन । ‘केही एयरपोर्टमा नाफामा छन् तर नाफा जति सञ्चालनमै सकिन्छ’ प्रवक्ता क्षेत्रीले भने ।

यो वर्ष पोखरा एयरपोर्टले ४ करोड ५५ लाख ८९ हजार ८६३ रुपैयाँ आम्दानी गर्दा १ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । त्यसैगरी, नेपालगञ्ज एयरपोर्टले ५ करोड आम्दानी गर्दा २ करोड ४५ लाख खर्च गरेको छ । धनगढी एयरपोर्टको आम्दानी २ करोड ७० लाख २२ हजार ७२ रुपैयाँ छ भने खर्च १ करोड ५३ हजार ६७९ रुपैयाँ छ । गौतमवुद्ध विमानस्थलको आम्दानी ५ करोड ३ लाख ६३ हजार ६०३ हुँदा खर्च ४ करोड ७१ लाख ८९ हजार ५७५ रुपैयाँ छ ।

रामेछाप एयरपोर्टको आम्दानी ४४ हजार छ भने खर्च २२ लाख रुपैयाँ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.