Dashain Suvakamana

पाँच दलीय गठबन्धनमा सुरु भयो गडबडी, के हुन्छ अब ?

काठमाडौं । नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र नेकपा एमालेको माधव नेपाल गुट मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन साता भएको छ ।

यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म लैजाने कार्ययोजना खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले बनाएका छन् । तर गठबन्धनले देउवा नेतृत्वको संयुक्त सरकार गठन गरेको तीन साता पनि नबित्दै गठबन्धनभित्रका दलमा भाँजो उत्पन्न हुन थालेको छ ।

खास गरेर वर्तमान गठबन्धनका प्रमुख २ पार्टीका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा नेतृत्वलाई लिएर फरक विचार उत्पन्न हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘गम्भीर छलफल’ गर्नुपर्ने भन्दै माओवादी केन्द्रले आज दिउँसो ३ बजे तय भएको बैठक स्थगित भएको छ।

एक स्थायी समिति सदस्यका अनुसार, पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनका विषयमा प्रधानमन्त्री देउवासँग गम्भीर छलफल गर्नुपर्ने देखिएको भन्दै आज तय गरिएको बैठक स्थगित गरिएको हो । सामान्यतः कुन कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा छलफल भएपनि कुन कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लागिसकेको छैन । पछिल्लो समय कांग्रेसले महत्वपूर्ण मन्त्रालयहरुमा आफ्नो दावी प्रस्तुत गरेपछि आन्तरिक रुपमा सत्तारुढ दलहरुबीच खटपट सुरु भइसकेको छ ।

अब आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र ढुक्कले सरकार सञ्चालन गरेर जाने मनस्थितिमा पुगेका देउवाले सत्तारुढ दलहरुलाई नै पेल्न थालेको जसपाका एक नेताको भनाइ छ ।माओवादी केन्द्रले आज दिउँसो ३ बजे बैठक राखी सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने योजना बनाएको थियो । आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा थिए ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने तयारी भए पनि देउवाले अस्वीकार गरेका थिए । त्यसपछि माओवादीमा देउवाले खेल्न खोजेको माओवादी नेताहरुको बुझाइ छ । माओवादी केन्द्रको हिजो बसेको स्थायी समिति बैठकले २० गतेका लागि तय गरेको केन्द्रीय समिति बैठक साउन ३० गतेलाई सारेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.