७ वर्ष लगाएर बन्दै गरेकाे धनगढी–राजघाट पुल प्रयाेग विहीन हुने खतरा
धनगढी । तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने ठेक्का लिएकाे ठेकदारकाे लापरवाहीले ७ वर्ष लगाएर बन्न लागेकाे धनगढी राजघाट पुल प्रयाेग गर्न खतरा हुने भएकाे छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वडा नम्बर ९ राजघाट जोड्ने पक्की पुल निर्माणधीन अवस्थामै रहेका वेला मोहना नदीले धार परिवर्तन गर्न थालेपछि यस्ताे खतरा बढेकाे हाे ।
निर्माण कार्य सुरु भएको ७ वर्षपछि पुल बन्न थालेपनि नदीले धार परिवर्तन गर्दै जमिन कटान गर्दै गएकाले पुल प्रयोग विहीन हुने अवस्थामा पुगेको हो । जसले गर्दा स्थानीयलाई बेल पाक्याे हर्ष न बिस्माद रहेकाे स्थानीयवासीले बताउने गरेका छन् । मोहना नदीले धार परिवर्तन गरेपछि थप समस्या भएको धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३ का स्थानीय राजबहादुर ऐरले बताए ।
धनगढी र कृष्णपुरका स्थानीयको दैनिकीसँग जोडिएको उक्त पुल निर्माण नहुँदा सास्ती भइरहेको छ । मोहना नदीमाथि निर्माणाधिन पुलको काम सम्पन्न भए धनगढी राजघाट १० मिनेटमा आवातजावत गर्न सकिने अवस्था रहेको छ । तर अहिले भने कृष्णपुर राजघाट लगायतका स्थानीयले गुलरिया, अत्तरिया हुँदै धनगढी आउनु पर्ने बाध्यता रहेको छ ।
मोहना नदीमा निर्माणाधिन पुलको काम सम्पन्न नहुँदै सोही पुल प्रयोगविहीन हुने अवस्था सिर्जना भएको राजघाटका स्थानीय दीपेश घर्तीले बताए । नदीले राजघाट तर्फको जमिन कटान गरेपछि पुल भन्दा अगाडीबाट नदी बग्ने सम्भावना बढेको छ । दुई दिन अगाडिको वर्षापछि नदीमा आएको बाढीले कृष्णपुर राजघाट तर्फको जमिन कटान गरेको छ । सो भागमा तत्काल तटबन्ध नगरे नदी मानव बस्तीमा पस्ने जोखिम रहेको तथा नदी एकातिर र पुल अर्कोतर्फ हुने सम्भावना रहेको स्थानीय राजबहदुर खड्काले बताए ।
निर्माण सम्झौताको ७ वर्षपछि पुलको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए ।सडक डिभिजन कार्यालय महेन्द्रनगरले मोहना नदीमा पर्ने पुल निर्माणका लागि ०७१ असार ३१ गते एलाइड एडभेञ्चरसँग ठेक्का सम्झौता गरेको थियो । तीन वर्षको अवधीमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकोमा ७ वर्ष पूरा हुँदासमेत पुल निर्माणको काम अधुरै रहेको छ ।
धनगढीको चटरपुरदेखि राजघाट जोड्ने पुलको लम्बाई एक सय २० मिटर मात्रै रहेको छ । निर्माण कम्पनी एलाइड एडभेञ्चरले अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक सय मिटर लम्बाईमा ग्रावेल मात्रै हाल्ने जनाएको छ । ८ करोड ४२ लाखमा निर्माण भइरहेको पुल प्रयोगमा ल्याउनका लागि नदी कटानको जोखिमलाई रोक्नुपर्ने स्थानीयको माग छ ।अबको एक महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने एलाइड एडभेञ्चरका सञ्चालक चन्द्रशेखर मल्लले दाबी गरे ।