धनगढी नगरभित्रका कालोपत्रे सडक तीन महिना नपुग्दै भत्किए

धनगढी । धनगढीको ढुंगेबजार–हनुमान मन्दिर–यातायात कार्यालय हुँदै तारानगर पुग्ने नालीसहितको कालोपत्रे सडक निर्माणका भएको ३ महिना नपुग्दै भत्किन सुरु भएको छ। तीन किलोमिटर ३८४ मिटर लामो सडकसहित दुवैतिर नाली निर्माणका लागि लामा–खड्का–कृष्ण जेभीसँग सघन सहरी विकासअन्तर्गत ठेक्का सम्झौता गरिएको थियो। तर, विद्युतका पोलहरु नालीको बीच भागमा राखेर निर्माण गरियो। यसरी निर्माण गरिएपछि पानीको निकास नै रोकिन पुगेको छ।

सडक हस्तान्तरण गरेको ३ महिना नपुग्दै सडकको बीच भाग मात्र नभएर सडक दायाँबायाँ भत्किन सुरु भएको स्थानीयको गुनासो छ। कमसल सामग्री प्रयोग गरेर नाली र सडक निर्माण भएको स्थानीयको आंशका छ। तारानगरमा निर्माणको गरिएको नाली पानी नै निकास नहुने गरी निर्माण गरिएको तारानगरकी स्थानीय गितादेबी शर्माले बताइन्। ‘नालीको बीच भागमा विद्युतको पोल राखेर नाली निर्माण गरिएको छ, यो मापदण्डविपरित हो। नाली बनाइएको छ तर पानी नै निकास हुँदैन,’ उनले गुनासो गरिन्, ‘यस्तो कुनै काम नलाग्ने नाली बनाएर पैसा कुम्ल्याउनुभन्दा बरु पहिल्यै ठिक थियो।’

सडकसहित नाली निर्माणको जिम्मा पाएको लामा–खड्का–कृष्ण जेभी सबै निर्माण सम्पन्न भएको भन्दै २०७७ माघ महिनामा उक्त सडक धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो। तर, सडक हस्तान्तरण गरेको ६ महिना नपुग्दै सडकको बीच भाग फुट्न थालेको छ भने सडक दायाँबायाँ भत्किन थालेको छ। ७ मिटर चौडाई सडक कालोपत्रे गर्नुपर्नेमा निर्माण कम्पनीले कतै ५ कतै साढे ५ त कतै कालोपत्रे गरी निर्माण सम्पन्न भएको भन्दै भुक्तानी लिइसकेको पाइएको छ।

खाल्डाखुल्डी छल्न खोज्दा दुर्घटनाको जोखिम झनै बढेको छ। सडक टुटफुट भएको धेरै स्थानबाट गुनासो आएको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका आयोजना प्रमुख प्रविन शाहले बताए।सम्बन्धित निर्माण कम्पनीलाई एक वर्ष नपुग्दै टुटफुट भएका तथा भत्किएका पूर्वाधारको पुनः निर्माणका लागि पत्राचार गरिसकेको आयोजना प्रमुख शाहले जानकारी गराए। लामा–खड्का–कृष्ण जेभीले सघन सहरी विकास अन्तर्गत धनगढीमा १७ वटा सडक निर्माण गरेर ८२ करोड रुपैयाँ  भुक्तानी लिइसकेको छ। ४२ किलोमिटर सडक निर्माण गरेको भन्दै उक्त कम्पनीले भुक्तानी लिइसके पनि निर्माण गरिएका अधिकांश सडक भत्किन थालेका छन्।

निर्माण सम्पन्न भएको सडक हस्तान्तरण गरेको एक वर्षभित्र टुटफुट भए वा भत्किए सम्वन्धित निर्माण कम्पनीले नै निर्माणको जिम्मेवारी लिनुपर्ने व्यवस्था छ।निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै भत्किएका सडकहरुको पुनः निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइले पत्राचार गरेको भएपनि कुनै काम हुन सकेको छैन। तर, लामा–खड्का–कृष्ण जेभीका प्रतिनिधि दीपक डिसीले आयोजना कार्यालयबाट टुटफुट तथा भत्केबिग्रेका सडक पुनः निर्माणका लागि पत्र आएकोले छिट्टै मर्मत सम्भार गरिने दाबी गरेका छन्।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले सघन सहरी विकास कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिकाभित्र ८२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएका १७ सडकमध्ये अधिकांश सडक निर्माण पूरा नहुँदै काम नलाग्ने भएपछि आयोजना कार्यालयले त्यस्ता सडकहरुको मर्मत हुन सकेको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.