Dashain Suvakamana

खप्तड पर्यटन विकासकालागि सुदूरपश्चिम सरकारकाे प्रतिबद्धता

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले खप्तड क्षेत्रमा पर्यटन विकास गर्नका लागि योजना र बजेट केन्द्रित गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले शुक्रबार धनगढीमा आयोजन गरेको खप्तड क्षेत्र पर्यटन विकास प्रतिबद्धता गोष्ठीमा मन्त्रीहरूले छ वटा बुदमा लिखित प्रतिबद्धता जनाए ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, प्रवक्ता र आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे । खप्तड क्षेत्रको समग्र पर्यटन विकासका लागि प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्दै खप्तड क्षेत्र विकासका लागि प्राथमिकताका साथ योजना र बजेट केन्द्रित गर्ने छ,’ प्रतिबद्धता पत्रमा लेखिएको छ ।

प्रदेश सरकारका मन्ञीहरूले खप्तड क्षेत्रको पर्यटनको दीगो तथा योजनाबद्ध विकासका लागि गुरुयोजना निर्माण गराउने प्रतिबद्धता पनि जनाएका छन् । खप्तड क्षेत्रको विकासका आधारभुत आवश्यकताका पुर्वाधार विकास योजनाहरू तत्काल निर्माण गराउने प्रतिवद्धता समेत गरिएको छ । ‘खप्तड क्षेत्रमा पर्यटन विकासका लागि सरोकारवाला निकायसमक्ष प्रभावकारी समन्वय गर्न खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले अग्रसरता लिने छ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘खप्तड क्षेत्रमा रहेका प्रचुर पर्यटनको सम्भावनालाई उजागर गर्न राष्ट्रिय तहमा आवश्यक प्रचारप्रसारलाई प्राथमिकता दिन प्रतिबद्ध छौं ।’

खप्तडको समग्र विकासका लागि विद्यमान कानुनी जटिलता फुकाउन सम्बन्धित निकायहरूमा पहल गर्ने, नतिजामुखी विकास योजना कार्यान्वयनमा अग्रसर हुने र निजी क्षेत्रलाई लगानी केन्द्रित गर्न गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ । खप्तड क्षेत्रको पर्यटन विकासका लागि लगानी सम्मेलन आयोजना गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत मन्त्रीहरूले जनाएका छन् ।

पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, आर्थिक विकास तथा प्राकृति स्रोत समितिका सभापति हर्कबहादुर कुँवर, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्का, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुँवर, नेपाल पत्रकार महाससंघ सुदूरपश्चिम प्रदेश समिति सचिव हरि जोशी र नाटा सुदूरपश्चिमका महासचिव पदमबहादुर सिंहले पनि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्रदेश सभाका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति कुँवर, पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गा विक, प्रदेश सभा सदस्य भरतबहादुर खड्का, बलबहादुर सोडारी, देवकी मल्ल, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका पूर्व अध्यक्ष अर्जुन शाह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य पुष्पराज कुँवर, कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोमा आचार्य र नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले आफ्नो धारणा राखेका थिए । कार्यक्रम समितिका अध्यक्ष हर्कबहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.