आपतकालिन उद्धारमा हेलिकप्टर तयार राख्न सुदूरपश्चिम सरकारकाे माग
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक विपतको पूर्वतयारी अन्तर्गत रोकथाम, उद्धार तथा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीको तयारी गरेकाे छ । यहीक्रममा बुधवार मुख्यमन्त्री त्रिलाेचन भट्टकाे अध्यक्षतामा गठित प्रदेश विपद् व्यबस्थापन परिषदकाे बैठक बसेर थप तयारी गर्ने निर्णय गरेकाे थियाे ।
प्राकृतिक प्रकोप नियन्त्रणका लागि आवश्यक पर्ने ठूला प्रकृतिका सामग्री र उपकरण व्यवस्थापन एवं खरिदका लागि संघीय सरकारलाई आग्रह गरिएको जानकारी दिंदै आन्तरिक मामिला तथा कानूनमन्त्री पुर्णा जाेशीले गृह मन्त्रालयको बैठकमा आफूले हेलिकप्टर समेत तयारी अवस्थामा राख्न माग गरेको जानकारी दिइन् । यहि क्रममा मन्त्री जोशीले प्रादेशिक आपतकालीन गोदामघरको अनुगमन गरेकी छन् । बिहीबार मन्त्री जोशीले भण्डारणको अवस्था बुझ्न गोदामको स्थलगत निरीक्षण गरेकी हुन् ।
‘प्राकृतिक प्रकोप नियन्त्रण, रोकथाम तथा उद्धारका कार्यक्रम सञ्चालन गर्न हामीसँग के–कति सामग्री मौज्दात छ ? के–कति सामग्री थप आवश्यक पर्छ ? हामीसँग भएका सामग्री कस्तो अवस्थामा छन् ? भन्ने विषयमा अध्ययन गरेर योजना बनाउने काम गरिरहेका छौं,’ मन्त्री जोशीले भनिन्, ‘गोदाममा मौज्दात रहेका सामग्रीहरु काम लाग्ने अवस्थामा छन् कि छैनन् ? भनेर आज अनुगमन गरेका छौं । यसले हामीलाई योजना बनाउन सजिलो हुन्छ ।’
प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी जोशीले ९ वटै जिल्लामा आवश्यकताका आधारमा उद्धार तथा राहतका सामग्री वितरण गर्ने योजना रहेको बताइन् । उनले ‘हाम्रो गोदाममा नभएका अत्यावश्यक सामग्रीहरु संघीय सरकारले उपलब्ध गराउनुपर्छ,’ उनले भनिन्, ‘विपद् व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयसँग हामीले माग पनि गरेका छौं ।’