Dashain Suvakamana

सुदूरपश्चिम सरकारले ल्यायो ३० अर्ब ३३ करोडको बजेट (पूर्ण पाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

चालुतर्फ १० अर्ब ६६ करोड ९० लाख तीन हजार रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री शाहले बताए । उनका अनुसार भैपरी आउने खर्चका लागि एक अर्ब ७२ करोड ४५ लाख र वित्तीय व्यवस्थामा ३० करोड विनियोजन गरिएको बताए ।

प्रदेश सरकारले आन्तरिक राजश्व परिचालनतर्फ एक अर्ब २२ करोड, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ सात अर्ब ९९ करोड ९१ लाख, रोयल्टी बाँडफाँडतर्फ तीन करोड ९२ लाख ६३ हजार र  समानीकरण अनुदानतर्फ आठ अर्ब ५४ करोड ८० लाख ४० हजार विनियोजन गरेको छ ।मन्त्री शाहले भौतिक पुर्वाधार विकास मन्त्रालयका लागि ११ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको बताए । तीन मेगावाट क्षमता भन्दा बढि क्षमताका नौगाड, सुर्नया गाड र अपर सुर्नयागाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन र निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए ।

यसैगरी प्रदेश सरकारले कृषितर्फ यसवर्ष पनि अनुदान दिने कार्यक्रम ल्याएको छ । प्रदेशमा फलफुल खेती विकासका लागि १० करोड रुपैयाँ छुट्याएको मन्त्री शाहले बताए । उनले कृषकसँग कृषि विद्यार्थी कार्यक्रमलाई थप पुरस्कृत गर्दै सञ्चालन गर्न चार करोड बजेट छुट्याएको बताए । प्रदेश सरकारको बजेटले कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको दाबी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाका लागि १९ करोड ७८ लाख रुपैयाँ बराबरको  बजेट विनियोजन गरेको छ।

यस्तै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा दुई अर्व ४२ करोड ५८ लाख ९० हजार रुपैया बजेट विनियोजन गरेको मन्त्री शाहले जानकारी दिए । बजेमा खोपको पहुँच पु¥याइने र प्रयोगशालाको स्तरोन्नति गर्ने पनि उल्लेख गरिएको छ। प्रदेश सरकारले महामारी व्यवस्थापन तथा प्रयोगशालाको सुदृढीकरण मा ९७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको मन्त्री शाहले बताए । यस्तै,  महामारी नियन्त्रण, व्यवस्थापन, साधनको अभाव हुन नदिन ९० करोड रकम विनियोजन गरेको मन्त्री शाहले बताए ।

मन्त्री शाहले स्थानीय प्रदेश सरकारको साझेदारीमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन आधाभूत स्वास्थ्य भवन निर्माण गर्न एक करोड रुपैया विनियोजन गरेको जनाएको छ । प्रदेश सरकारले ‘हाम्रो प्रदेश, स्वास्थ्य प्रदेश’ कार्यक्रम, मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, स्वास्थ्यकर्मीलाई प्रोत्साहन लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना तथा सञ्चालनका लागि पाँच लाख रकम विनियोजन गरेको छ ।

यस्तै, अछामस्थित न्याय अस्पतालको सुदृढीकरण तथा सुधारका लागि  आठ करोड रकम र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको सुधार तथा सुदृढीकरणका लागि पुँजीगत तर्फ अनुदानको व्यवस्था गरेको मन्त्री शाहले जानकारी दिए । प्रदेश सरकारले कडा रोगका विरामीलाई आर्थिक सहायताका लागि एक करोड २१ लाख, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा विस्तार तथा औजार उपकरण खरिदका लागि १० करोड ४९ लाख र औषधि खरिदका लागि तीन करोड ७८ लाख रकम विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षमै सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले निर्माणाधिन अवस्थामा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका लागि पनि चार करोड ५२ लाख रकम विनियोजन गरेको छ । प्रदेश सरकारले यस वर्ष पनि आयुर्वेद कार्यक्रमलाई बढी जोड दिई बजेट विनियोजन गरेको छ । मन्त्री शाहले भने, ‘आयुर्वेद संस्थामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विस्तारका लागि स्वास्थ्य जिवन नागरिक आरोग्य कार्यक्रम पूर्वकर्म, पञ्चकर्म सेवा विस्तारका लागि दुई करोड, महाकाली आयुर्वेद अस्पताल कञ्चनपुरलाई प्रादेशिक स्वास्थ्य केन्द्र स्थापना तथा सञ्चालनका लागि ९० लाख रकम विनियोजन गरेको छु ।’

प्रदेशका आयुर्वेदिक प्रयोगशालाहरूको सुदृढीकरणका लागि ५० लाख, ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा दिनका लागि मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमका लागि १ करोड ६० लाख रकम विनियोजन गरिएको  छ । यस्तै सुत्केरी तथा जटिल रोगका विरामीका लागि हवाई उद्दार कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको छ । हवाई उद्दार कार्यक्रमका लागि प्रदेश सरकारले ५३ लाख ३५ हजार रकम विनियोजन गरेको छ  । प्रदेश सरकारले सुत्केरी महिलाका लागि सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । यसका लागि एक करोड ११ लाख रकम विनियोजन गरेको छ ।

प्रदेश सरकारले अस्पतालको भवन निर्माण कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । प्रदेश सरकारले डोटी अस्पताल भवन निर्माणका लागि ५ करोड ३५ लाख, बेदकोट अस्पतालका लागि ५ करोड ३५ लाख, लम्की चुहा सामुदायिक अस्पतालका लागि आठ करोड, महाकाली अस्पतालको स्टाफ क्वार्टर निर्माणका लागि ५ करोड ७५ लाख, जिल्ला अस्पताल मार्तडीको स्तरोन्नतिका लागि पाँच करोड र अछाम अस्पतालको भवन निर्माणका लागि १ करोड ५० लाख रकम विनियोजन गरेको मन्त्री शाहले बताए ।

यस्तै जनयुद्ध लगायत विभिन्न आन्दोलनका शहिद परिवार तथा घाइतेका लागि निःशुल्क उपचार गर्न १० करोड छुट्याइएको छ।

 यस्तो छ पूर्ण पाठ

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.