यस्ताे छ सुदूरपश्चिम प्रदेश सरकारकाे बजेट तयारी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ बजेट ल्याउदै छ । प्रदेशसभाकाे आज दिउँसाे ४ बजे बस्ने बैठमा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण, उत्पादन र स्वराेजगारलाई प्राथमिकतामा राखेर बजेट तयार पारिएकाे बताइएकाे छ ।
यसअघि प्रदेशसभावाट पास भएकाे नीति तथा कार्यक्रममै अर्थमन्त्री प्रकाश वहादुर शाहले समयकाे आवश्यकतामा केही नयाँसँग राम्राखाले पुराना गाैरवका याेजनालाई आगामी वर्ष पनि निरन्तरता दिइएकाे बताएका थिए । सरकरले ल्याउन लागेकोे बजेट चालू आवको भन्दा कम आकारको २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
सङ्घीय सरकारबाट प्रदेश सरकारले पाउने समानीकरण अनुदान र विशेष अनुदान कम हुनाका साथै चालू आवको बजेटमा बचतसमेत कम हुने देखिएकाले आगामी आवको बजेटको आकार घटेकाे मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले बताए । उनका अनुसार सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन हुनेछ । सो मन्त्रालयले रु आठ अर्ब ४३ करोडको बजेट सिलिङ पठाएको छ । सामाजिक विकास मन्त्रालयका लागि रु साढे चार अर्ब बढी बजेट विनियोजन हुनेछ ।
यसैगरी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु दुई अर्ब ३४ करोडको बजेट सिलिङ पाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब ५० करोड, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रु एक अर्ब १३ करोड, आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई रु ३७ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई रु ३१ करोडको बजेट विनियोजन गर्ने तयारी गरिएको जनाइएको छ ।