Dashain Suvakamana

‘संघीयता असफल पार्नेबिरुद्ध सुदूरपश्चिम एक हुनुपर्छ’ मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताकाे लामाे संघर्ष र बलिदानीवाट आएकाे संघीय ब्यवस्था असफल पार्ने विरुद्ध सुदूरपश्चिम एकजुट हुनुपर्ने बताएका छन् । आइतबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री भट्टले अहिले प्रदेश संरचनामाथि प्रश्न उठाउने काम भइरहेकोमा चिन्ता व्यक्त गर्दै यस्ताे बताएका हुन् ।

प्रदेश संरचना फेल भए संघीय शासन प्रणाली नै असफल हुने भन्दै उनले भने- ‘राज्य व्यवस्थाका संरचना फेल भयो भने नेपाल नै फेल हुन्छ । हाम्रो अहिलेको व्यवस्था फेल हुन्छ त्यसपछि हामी सबै फेल हुन्छौं,’ मुख्यमन्त्री भट्टले भने, ‘त्यसैले यो प्रणालीलाई जोगाउनुपर्छ । कसैलाई कोही मुख्यमन्त्री मन नपर्न सक्छ । त्यो अलग कुरा हो । तर समग्रमा अहिलेको संघीयता प्रणालीजोगाउने नै मुख्य कुरा हो ।’

उनले संविधान र व्यवस्थालाई आफू अनुकुल व्याख्या गरेर समाप्त पार्ने षड्यन्त्रविरुद्ध एकजुट भएर जानुपर्ने आवश्यकता देखिएको बताए । ‘संघीय संसद दुई पटक विघटन भइसकेको र प्रदेशतिर पनि कतिबेला के हुन्छ भन्ने चिन्ताको विषय बनेको छ,’ उनले अगाडि भने, ‘अन्यत्र जे भए पनि सुदूरपश्चिमको सदन साझा रुपमा ती षड्यन्त्रविरुद्ध एक भएर उभिनुपर्छ । त्यो कुरालाई हामीले देखाइसकेका सकेका पनि छौं ।’

मुख्यमन्त्री भट्टले प्रदेशमा उपलब्ध स्रोत साधनको उपयोग गरेर विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘सुदूरपश्चिम प्राकृतिक, भौगोलिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न प्रदेश हो,’ उनले भने, ‘हामीसँग भएका यी स्रोत साधनको प्रयोग गरेर विकास गर्नुपर्छ ।’ कम्युनिष्टको नेतृत्वमा सरकार भएकै कारण देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न आऔं भन्ने नाराका पर्यटन प्रबद्र्धन गर्ने कार्यक्रमको आलोचना भएको बताउँदै भट्टले कुनै पनि ठाउँको विकास त्यहाँ उपलब्ध स्रोत साधनकै उपभोग गरेर हुने स्पष्ट पारे ।

विगतमा कोरोना भाइरसको संक्रमणका कारण पर्यटन प्रवद्र्धनदेखि विकास निर्माणका कामले गति पाउन नसकेकाले अब यसलाई तीव्रता दिने उनको भनाइ थियो । प्रदेशसभा सदस्यहरुले आगामी बजेटमा १० लाखभन्दा कम बजेटका योजना समावेश नगर्न भन्दै दिएको सुझावलाई लक्षित गर्दै रोष्टममा उभिएर भन्न सजिलो भए पनि व्यवहारमा कार्यान्वयन गर्न कठिन भएको उनले बताए ।

प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि मुख्यमन्त्री भट्टले दाबी गरे । अन्य विकास निर्माणका कामलाई पनि गति दिइने भन्दै भट्टले प्रदेशमा विकाससँगै रोजगारी कार्यक्रममार्फत स्वरोजगारका अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको जनाए । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुको सीपमा आधारित स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने समेत उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.