सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । उनले त्यससम्बन्धी पत्र आइतबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको भएपनि प्रदेशसभाको नियम अनुसार दर्ता गरेको ४८ घण्टा पुग्नुपर्ने नियमले मंगलवारकाे तयारी भएकाे प्रदेशसभा सचिवालयले बताएकाे छ ।

नेकपा एमाले स्थायी कमिटीले जेठ १० गते सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर जेठ १२ गते बसेको नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई रहेको समर्थन कायम राख्ने र मन्त्रिपरिषद् विस्तार गरेर थप सदस्यहरु सरकारमा पठाउने निर्णय गरेको थियो । त्यसयता एमालेभित्र किचलो छ ।

हाल सभामुखसहित ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ । विश्वासको मत लिदै गर्दा भट्टले २८ बढी मत प्राप्त गर्ने अनुमान गरेको छ । एमाले माधव नेपाल समूहको दरिलो साथ भएकाले मुख्यमन्त्री भट्टलाई विश्वासको मत सहजै प्राप्त हुने अवस्था रहेको सांसदहरुले बताएका छन् ।

माओवादी केन्द्रका १३ जना सदस्य छन् । सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् । पछिल्लो समयमा एमाले सांसदहरु अध्यक्ष ओली र नेपाल समूहगरी दुई चिरामा बाँडिएका भएपनि नेपाल पक्षमा बहुमत सदस्य छन् । नेपाल समूहले आफ्नो पक्षमा कम्तीमा पनि १५ जना सदस्य रहेको उक्त पक्षको दाबी छ । ‘मुख्यमन्त्रीले कम्तीमा २८ मत पाउनु हुन्छ,’ माओवादी केन्द्रका सांसद महेशदत्त जोशीले भने, ‘त्यसपछि अहिलेको सरकार ढुक्कसँग चल्छ ।’

नेपाल पक्षले अहिलेकै सरकारलाई समर्थन दिने भएपनि विश्वासको मत फिर्ता लिने पार्टी निर्णयको पक्षमा रहेका ओली पक्षधर सांसदहरु भने अलमलमा पर्ने देखिएको छ । आफ्नो पक्षमा रहेको संसदीय दलले विश्वासको मत दिने निर्णय गरेमा ह्विप जारी गर्न सक्ने छ । त्यस अवस्थामा ह्विपमा उल्लंघन गरेमा ओली पक्षका सांसदहरु अप्ठेरोमा पर्न सक्ने देखिएको सांसदहरुले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.