ओली समूहका सांसद बोहोरासँग संसदीय दलका नेताले माग्याे स्पष्टीकरण
धनगढी । नेकपा एमालेकाे विवाद अहिले सुदूरपश्चिमको राजनीतिमा परेकाे छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहले खनाल-नेपाल पक्षकालाई कारवाही गरिरहेका बेला सुदूरपश्चिम प्रदेश संसदीय दलका नेताले ओली पक्षका सासंद पठान सिंह बाेहरालाई स्पष्टीकरण सोधेको छ ।
संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सासंद तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेका हुन् । ‘१२ गते धनगढीमा सम्पन्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश, प्रदेशसभा दलको बैठकमा तपाई स्वयंको उपस्थितीमा भएका निर्णयहरूविरुद्ध तपाईंले दिनुभएका सार्वजनिक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ भन्दै संसदीय दलको बैठकले गरेका निर्णय कार्यान्वयनमा बाधा पुर्याई गुटबन्दी गरेको, संसदीय दलका अन्य सदस्यलाई उक्साउने र भड्काउने काम गरेको, जनताको हितमा प्रभावकारी काम गर्न खोज्दा बाधा पुर्याएको आरोप लगाइएको छ ।
१६ गते साँझ ५ बजेसम्म चिक्तबुझ्दो स्पष्टीकरण नआए संसदीय दलको विधान २०७७ अनुसार कारबाही हुने स्पष्टीकरणमा उल्लेख छ । माओवादी नेतृत्वको प्रदेश सरकारबाट फिर्ता हुने पार्टीको स्थायी समिति र प्रदेश समितिको निर्णयविपरीत सुदूरपश्चिमको संसदीय दलले १२ जेठमा वर्तमान सरकारलाई दिएको समर्थत यथावत राख्ने निर्णय गरेको थियो । दलको बैठकमा ओली पक्षका सासंद बोहरा पनि सहभागी थिए । उनले दलका नेता शाहले एकलौटी गर्न खोजेको आरोप लगाएका थिए ।
यता ओली समूहको प्रदेश समितिले दलका नेतासमेत रहेका मन्त्री प्रकाशबहादुर शाह, मन्त्रीहरु र राज्यमन्त्री भएका तीन जनालाई पनि स्पष्टीकरण सोधेको छ ।