सुदूरपश्चिम एमाले संसदीय दलले सरकारको समर्थन फिर्ता नलिने
मन्त्रीमण्डल विस्तार हुने
धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
सो निर्णयपछि सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बसेको थियो । स्थायी कमिटीलाई चुनौती दिंदै समर्थन फिर्ता नलिने निर्णय गरेपछि माओवादी नेतृत्वको सुदूरपश्चिम सरकार यथावत रहने भएकाे छ । यता मुख्यमन्त्री त्रिलाेचन भट्टले पनि मन्त्रीमण्डल बिस्तार गर्न छलफल चलाएकाे मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिं ओलीले जानकारी दिएका छन् ।