Dashain Suvakamana

पत्रकार चुनाव : कुन जिल्लामा कसको नेतृत्व ?

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशमा लाेकतान्त्रिक बाम गठबन्धन प्यानल विजयी भएकाे छ । बुधवार सम्पन्न मतदानमा याेगेश रावलले नेतृत्व गरेकाे प्रेस युनियन, प्रेस संगठन. प्रेस चाैतारी (नेपाल समुह) लगायतकाे गठबन्धन प्यानल विजयी भएकाे हाे ।

रावलले सात सय ५६ मत प्राप्त गरे । प्रेस चौतारी (ओली समूह)को नेतृत्व गरेका कृष्णले दुई सय ९२ भोट प्राप्त गरेका छन् ।अध्यक्ष योगेश रावलसगै उपाध्यक्षमा साेही प्यानलका याेगेन्द्र बलायर, महासचिवमा रामसिंह ठगुन्ना, सचिवमा हरी जाेशी, समावेशी सचिव प्रेम चुनारा, काेषाध्यक्षमा राम धामी लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरू विजयी भएका छन् ।

कुन जिल्लामा कसको नेतृत्व ?

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये बझाङ्गमा संयुक्त प्यानलका शैलेन्द्रवहादुर रोकाया नेतृत्वको टिम विजयी भएको छ । अछाममा खम्वु खत्री नेतृत्वको प्रेस युनियनको प्यानल विजयी भएको छ । बाजुरामा युनियन र ओली समूहबीच गठवन्धन भई युनियनका छक्क मल्ल नेतृत्वको प्यानल विजयी भएको छ ।

डोटीमा मोहन शाही नेतृत्वको एकल टिम बिजयी भएको छ । दार्चुलामा ओली समूहको चौतारीको टोली बिजयी भएको छ । यस्तै कैलालीमा स्वतन्त्र प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका हिमाल जोशीको टोलीले बाजी मारेको छ । जोशी आस्थाका आधारमा युनियन निकट हुन् । कञ्चनपुरमा माधम धामी नेतृत्वको गठवन्धन समूह निर्वाचित भएको छ ।

रोचक रह्यो डडेल्धुराको निर्वाचन

डडेल्धुराको निर्वाचन रोचक रह्यो । युनियन नेतृत्वको गठवन्धनले युनियनका बरुण पनेरु नेतृत्वमा टिम तयार गरेको थियो । उक्त टिम आफूहरुलाई स्वीकार्य नभएको भन्दै यनियन इतर जिल्ला नेताहरुले विद्रोह गरे । उनीहरुले प्रेस चौतारी माधव–खनाल समूहका हिक्मत सिंह नेतृत्वमा नयाँ टिम बनाउँदै निर्वाचनमा गएका थिए । केन्द्रदेखिको गठवन्धनविरुद्ध लागेको भन्दै सिंहलाई कारवाही समेत भयो ।

तर चुनावी बाजी तिनै सिंहको प्यानलले मारेको छ । सिंहले गठबन्धनका आधिकारिक उम्मेद्वार पनेरुलाई १८ मतको अन्तरले पराजित गरेका हुन् । उपाध्यक्ष, सहसचित, समावेशी सचिव र कोषाध्यक्ष पनि सिंह प्यानलकै विजयी भए ।

बैतडीमा भने सदस्यता विवादका कारण चुनाव हुन सकेन । नयाँ सदस्यता सिफारिस गर्ने क्रममा क्रियाशील पत्रकारहरुले नपाएको भन्दै एक समूहले निर्वाचन समितिको कार्यालयका कागजातहरु च्यात्दै तालाबन्दी समेत गरेको थियो । प्रदेश र केन्द्रको टिमलाई मतदान गर्ने तर जिल्ला नेतृत्वको निर्वाचन नगर्ने गरी सहमति भएपछि जिल्ला नेतृत्व चयन भएको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.