सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन हुँदै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकाे मन्त्रीपरिषद पुनर्गठन हुँदैछ । नेकपा माओवादी केन्द्रकाे नेतृत्वमा एमाले सम्मिलित सरकार गठन भएकाे तीन वर्षपछि देशकाे राजनीतिक अवस्थामा देखिएकाे परिबर्तनसँगै सुदूरश्चिम प्रदेश सरकार पुर्नगठन हुन लागेकाे विश्वस्त सुत्रले जानकारी दिएकाे छ ।
सुत्रका अनुसार नेकपा एमालेका नेता भीम रावलले प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेका छन्। एमाले संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई फिर्ता बोलाएर ४ जना एमाले र १ जना माओवादीका प्रदेशसभा सदस्यलाई मन्त्री बनाउनेगरि छलफल जारी राखेका छन्।
“रावलले एमालेका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका प्रदेशसभा दीर्घ सोडारी, प्रदेशसभा सदस्य कुलविर चौधरी, पूर्णा जोशी, मनाकुमारी साउद र माओवादीका मानबहादुर धामीलाई मन्त्री बनाउदैछन्,” स्रोतले भन्यो, “एमालेकै प्रदेशसभा सदस्य चुनकुमारी चौधरीलाई राज्यमन्त्री बनाउने तयारी छ।”
तर कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयको भने टुङ्गो नलागेको बताइएको छ। उता प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले भने मन्त्रिमण्डल विस्तारको विषयमा कुनै खालको छलफल नै नभएको दाबी गरेका छन्।