धनगढी। सुदूरपश्चिमका कैलाली-कञ्चनपुर जिल्लाको थारु बस्तीमा यत्तिबेला सखिया नाचको रौनक सुरू भएको छ । दसैं नजिकिएसँगै थारु समुदायले गाउँघरमा परम्परागत सखियाको ‘पैँया’ (सखिया नृत्य) देखाउन थालेका हुन् ।
अट्वारी पर्व लगत्तै सखियाको पैँया सुरू गर्ने चलन रहेको बताइन्छ । यो पर्व सकिएपछि गाउँघरमा दसैँको तयारीस्वरूप परम्परागत एवम् मौलिक नृत्य सखिया नाचको पैँया लगाउन थालिएको छ । विभिन्न गाउँका महिलाले साँझपख सामूहिक रूपमा सखिया नाच नाच्न थालेका छन् । कैलारी गाउँपालिका–६ बेनौली गाउँ पनि सखिया नाच नाच्नका लागि बजाइने मादलको तालले गुञ्जायमान हुन थालेको छ । यो गाउँका महिला, युवतीले सखियाको पैँया लगाउन थालेका छन् । पैँया गीतविहीन नृत्य रहेको बताइन्छ ।
दसैंमा भने गीत गाउँदै सखिया नाच देखाइने गरेको गरिन्छ । अट्वारी पर्व मनाइ सकेपछि गाउँमा सखियाको पैँया लगाउन थालिएको स्थानीय बेद्प्रसाद महतोले हरेक साँझबाट पैँया लगाउने कार्य सुरू भइ राति १० बजेसम्म सखियामा रमाउन थालिएको जानकारी दिए। मादल र मजिराको तालमा युवती वा महिलाले सामूहिक रूपमा सखिया नाच नाच्ने गर्दछन् । मादल बजाउने ‘मंदरिया’को निर्देशन र मादलको ताल (खोट)अनुसार उनीहरूले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्छ ।
साथी सङ्गीहरू मिलेर सामूहिक रूपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भनिएको हो । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । साथीहरु मिलेर नाच्ने नाच भएकोले यसलाई सखिया नाच भनिएको बताइन्छ । सखिया नाच थारु समुदायको मौलिक लोक नृत्य हो ।