भारतद्वारा कोइला आयातमा रोकःपश्चिम नेपालका सयौं इँट्टा व्यवसायी समस्यामा
सिराज खान
नेपालगञ्ज। भारतले कोइला आयातमा रोक लगाएपछि यस क्षेत्रका इँट्टा ब्यवसायी समस्यामा परेका छन् । इँट्टा उत्पादनको सिजन भएकैबेला भारतले इँट्टा पकाउन प्रयोग हुने कोइला आयातमा रोक लगाएपछि तयार भएको काचो इँटा पकाउन नसकिएको स्थानीय व्यवसायीको गुनासो छ ।
इँट्टा व्यवसायी संघ बाँकेले दिएको जानकारी अनुसार इँट्टा पकाउनका लागि भारतको झारखण्ड र बङ्गालबाट कोइला आयात गर्ने गरिएकोमा अहिले एक्कासी भारतले आयात रोक्दा व्यवसायीलाई समस्या परेको छ । इँटा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले भारत सरकारले कोइला अभाव भएको बहाना बनाएर आयातमा रोक लगाएको जनाउँदै कोइलाको अभावमा तयारी इँट्टा त्यस्तै राख्नु परेको बताए ।
बाँके, बर्दिया, दाङ, सुर्खेतका इँट्टा उद्योगीले भारत र तेस्रो मुलुकबाट कोइला आयात गर्दै आएका छन् । भारतले आफ्नो देशको मात्र नभई तेस्रो मुलुकबाट आउने कोइला समेतको आयातमा रोक लगाएको चाँद इँट्टा उद्योगका संचालक चाँद खानले बताए।उनले इँट्टा पकाउन प्रयोगमा आउने हुने ब्रिगेड समेत भारतले ल्याउन नदिएको गुनासाे गरे । कोइला नपाउँदा १० लाख काचो इँट्टा बाहिर रहेको उनकाे भनाई छ ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले पनि गत दुई हप्तादेखि भारतबाट कोइला नआएको बताए । कोइला बोकेका मालबाहक गाडी नआएपछि मात्र भारतले कोइला ल्याउन नदिएको जानकारी पाएको उनको भनाई छ । कोइला आयातमा भारतले रोक लगाएको भन्ने जानकारीमा आएपनि के कारणले रोकेको हो भन्ने आधिकारिक जानकारी नआएको उनले बताए ।