Dashain Suvakamana

कम्युनिजमको ‘मिथ्याकरण’

– सुरेश प्राञ्जली

दोस्रो विश्वयुद्धको मैझारो होउन्जेल मजबुत भैसकेको विश्व कम्युनिजम सन् १९९० आसपास आउँदै गर्दा लर्खरायो । त्यसपछि विश्व शासकीय केन्द्रबाट निरन्तर ओरालो झरेको कम्युनिजमले आफ्नो गौरवमय शासकीय साख फर्काउन सकेन । यसको दोष सम्भवतः उनीहरूले अभ्यास गरेको शासकीय राजनीतिकै थाप्लामा जाने हो । पछिल्लो सन्दर्भमा शक्ति अभ्यास वा शासकीय तामझामबाट क्रमशः किनारीकृत हुँदै गरेको ‘दुःखान्त आख्यान’ कम्युनिजमकै एउटा भाष्यले बताउँछ । शासकीय आयामबाट हेर्दा कम्युनिजम झांगिँदै जाँदा लोकतन्त्र कमजोर भएको ठान्ने नगरिएको पनि होइन । हुन त कम्युनिस्ट आँखाले लोकतन्त्रलाई शासकीय गुणको रूपमा बुझ्न र वकालत गर्न थालेसँगै यसको सैद्धान्तिक यथास्थितिमा गतिशीलता देखा पर्‍यो, जुन पछि आएर यसको राजनीतिक अवनतिको निर्णायक कारक भइदियो । त्यसो त आजसम्म कम्युनिस्ट आन्दोलनसँगै जेजस्ता मानक स्थापित गराइएका छन् मूलधारको शासकीय राजनीतिमा, तिनको सैद्धान्तिकीकरण हुँदै गर्दा यसले राजनीतिक स्वैरकल्पनाभित्र आफूअनुकूलको भुलभुलैयाचाहिँ निर्माण गरिदिएको छ ।

खासमा कम्युनिजमको सैद्धान्तिकीकरण नै यसरी भएको छ कि यसले समाजको वर्गीय सत्तालाई ठाडै चुनौती दिन्छ वा यसको मानक आँखाबाट हेर्दा वर्गीय गुणसहितको समाज खास समाज होइन । त्यही भएर पनि वर्ग संरचनाको अस्तित्व स्वीकार नगर्ने त भइहाल्यो । यहाँनेर निख्खर सैद्धान्तिक गुणका आधारमा मात्रै कम्युनिजमलाई बुझ्ने हो भने आज अभ्यास गर्दै गरिएको कम्युनिजमलाई ‘ठिमाहा कम्युनिजम’ भन्ने सुविधा मनग्गे छ । यो विनिर्मित सुविधा निर्माणमा भने कम्युनिस्टभित्रकै अलि चल्तापुर्जा वा अग्रगामी कम्युनिस्ट ठान्ने पंक्तिको उल्लेख्य देन छ । यहाँनेर खाँटी कम्युनिजमको मानक गुण विश्व राजनीतिमा ह्रासोन्मुख हुँदै गर्दा यसले कालान्तरमा शासकीय खराबीको बदमानी कमाउने अवस्था सिर्जना हुने जोखिम पनि उत्तिकै बढेर गएको छ ।

अलिकति इतिहासपट्टि फर्कियौँ भने जार निकोलस द्वितीयको सत्ता सन् १९१७ को अक्टोबर क्रान्तिले ढालेपछि विश्वमा हामीले बुझेको कम्युनिजमको बिउ रोपिएको थियो, जुन यति राम्रोसित हल्कियो कि यसले विश्वका प्रत्येक समाजलाई बाँध्न सक्ने कडीको रूपमा आफूलाई स्थापित गर्न कामयाब भयो । तर, सन् १९९० तिर आइपुग्दा भने उक्त कडी धोल्लिन थालिसकेको थियो । यतिन्जेल कम्युनिजमको रन्को चीन र उत्तर कोरियासम्म मात्रै पुगिसकेको थिएन कि क्युवा लगायतमा वैचारिक सबलीकरण गरिसकेको थियो । अर्कोतर्फ पश्चिमा लोकतन्त्र कम्युनिजम दरिएला भन्ने जगजगीमा बाँचेको थियो । हुन त कम्युनिजमले आफ्नो असली गुण भुल्दै गर्दा पनि पश्चिमा लोकतन्त्रको टाउको दुखाइ आज पनि उत्तिकै छ । अमेरिकाले त डेढ दशकसम्म सोभियत संघको बोल्सेभिक सत्ताको अस्तित्व नै पनि स्वीकार नगरेको हो । २०औँ शताब्दीमा मात्रै होइन, आज पनि अमेरिका त्राहिमाम बनेको वैचारिक अस्त्र यही कम्युनिजम नै हो ।

कम्युनिजमले धर्मलाई सामाजिक असमानताको प्रधान कारक मान्यो । आज पनि हुनेखाने वर्गले हुँदा खाने वर्गको मुखमा बुजो लगाउने हतियारबाहेक कम्युनिजममा धर्मको स्थान नभएको तर्क गर्ने गरिन्छ । कम्युनिस्टको आँखाबाट हेर्दा धर्मलाई अफिम ठानिनु ठिकै पनि थियो होला । धर्मले समाजमा वर्गीय सत्ता निर्माण नगरोस् भनेर खबरदारी गर्ने धर्म नै कम्युनिस्ट धर्म हो । तर, समाजको सैद्धान्तिक सबलीकरणको अस्त्रको रूपमा कतिपयले बुझ्दै र बुझाउँदै आएको धर्मजन्य सिद्धान्तको खिलापमा आज कम्युनिस्ट स्वयं उभिनुपर्ने बाध्यता विनाकारण आइपरेको त पक्कै पनि होइन होला । उत्कर्षमा पुगेको विश्व राजनीतिक परिदृश्यको निष्कर्ष सम्भवतः यही हो– कम्युनिस्ट शासकले गर्नैपर्ने काम गर्न हात कमाए र गर्नैनहुने काम गर्न भने सर्सराए ।

नेपालका कम्युनिस्ट कम्युनिस्ट कम र गैरकम्युनिस्ट बढी देखिएको तथ्य उनीहरू आफैँले भन्दा बढी अरू कसैले बुझेको छैन । त्यसो त कम्युनिस्टइतर दलले कम्युनिस्टले गर्नुपर्ने काम गरिदिएको भएर पनि होला, नेपाली कम्युनिस्टलाई कम्युनिस्ट बनिरहनुपर्ने बाध्यता छैन ।

यसबाट राजनीतिक वैधानिकीकरणमा ह्रास आउने पक्कापक्की थियो, आयो । सँगै, दलीय वा आन्तरिक शक्तिसंघर्ष थप चर्किंदा उसको सैद्धान्तिक क्षयीकरणको आयतन थप फैलिँदै गयो । यदि नेपालमा मौजुदा कम्युनिस्टलाई सिद्धान्ततः कम्युनिस्टको कसीमा राखेर जाँच्ने हो भने नेपालमा अब कम्युनिस्ट नामको दल नै छैन भन्ने माने पनि हुन्छ । यसबारेमा सबैभन्दा बढी तिनै जानकार छन्, जसले आफूलाई कम्युनिस्ट माने वा मानेको भ्रम मात्रै पाले । यसले के पनि अथ्र्याउँछ भने अब नेपालका कम्युनिस्ट कम्युनिजमको खाँटी कसीमा उभिएर जाँचिने आँट सम्भवतः गर्नेछैनन् ।

किनभने, नेपालका कम्युनिस्ट कम्युनिस्ट कम र गैरकम्युनिस्ट बढी देखिएको तथ्य उनीहरू आफैँले भन्दा बढी अरू कसैले बुझेको छैन । त्यसो त कम्युनिस्टइतर दलले कम्युनिस्टले गर्नुपर्ने काम गरिदिएको भएर पनि होला, नेपाली कम्युनिस्टलाई कम्युनिस्ट बनिरहनुपर्ने बाध्यता छैन । सिद्धान्ततः कम्युनिस्टबाहेक अरू जे दल बने पनि छुट भइदियो, अथवा उनीहरूलाई कम्युनिस्ट बन्ने महान् अवसरबाट चुकाउन अन्य दलले नजानिँदो गरी कम्युनिस्टको सैद्धान्तिक कार्यभार नै सम्हालिदिए । पछिल्लो शासकीय विरोधाभास त के देखियो भने कम्युनिस्टले लोकतन्त्र बोक्ने काम मात्रै गरेनन्, लोकतान्त्रिक विधिको खिलापमा उत्रिने पनि कम्युनिस्ट नै भए । नेपालका कम्युनिस्टलाई लोकतान्त्रिक विधि स्थापनार्थ सडक संघर्षमा उत्रिनुपर्ने बाध्यता बनिदियो ।

त्यसो त खाँटी सिद्धान्तको परिष्कृत संस्करणसँगै विश्व कम्युनिस्ट जति–जति लोकतान्त्रिक बन्दै गए, उति–उति शासकीय वैधानिकीकरणको अवनतिजन्य खुड्किला पनि ओर्लिंदै आए । नेपाली संस्करणको कम्युनिजमको अभ्यासले त के देखायो भने कम्युनिस्ट भइदिनुपर्ने दलको कम कम्युनिस्टीकरण भयो, नहुनुपर्ने वा कम्युनिस्टजस्तो देखिनैनहुने दलचाहिँ कम्युनिस्टजस्ता देखिए । जस्तो कि, धार्मिक भए पनि हुने वा हुनैपर्ने कम्युनिस्टइतरका राजनीतिक दल बरु उति धार्मिक देखिएनन् होला, जति धार्मिक कम्युनिस्ट देखिए । तुलनै गर्ने हो भने नेपालभित्रका कम्युनिस्टमा विश्वका अन्य कम्युनिस्टमा भन्दा बढ्ता धर्ममोह देखिएला । यसले थप के सवाल जन्माउँछ भने कतै कम्युनिस्टले अभ्यास गर्नुपर्ने बौद्धिक राजनीति नै वैदिक राजनीतिमा रूपान्तरण भइसकेको त होइन ? कम्युनिस्टको यही प्याराडाइम सिफ्टले पनि होला असली कम्युनिस्टीकृत हुनुपर्ने राजनीतिक गुण कम देखिँदै जाँदा गैरकम्युनिस्ट दरिन पुगेको । उदाहरणका लागि, सिद्धान्ततः कम्युनिस्ट निजी सम्पत्तिको खिलापमा रहनुपर्ने हो । तर, विरोधाभास के भइदियो भने आजका कम्युनिस्टमा नै निजी सम्पत्तिमोह सबैभन्दा बढी देखियो ।

नेपालमा चामत्कारिक हिसाबले संस्थागत हुन थालेको कम्युनिजम कम्युनिस्टकै कारण स्खलित हुुनुको दोष अब कसको थाप्लोमा खन्याउने ? आज कम्युनिजम अभ्यास भएको समाजमा कम्युनिस्ट सिद्धान्तले व्याख्या गरेजस्तो आर्थिक असमानताका फाँच साँघुरिएका छैनन्, बरु अनपेक्षित रूपले फैलिँदै गएको देखिन्छ ।

हुन पनि सबैभन्दा बढी नैतिकता स्खलनको सवालमा पनि कम्युनिस्ट अनुत्तरित नै छन् । कम्युनिस्ट शासन रहेका मुलुकमा भ्रष्टाचारको दर उकालिएकोउकालियै गर्नु यसैको दृष्टान्त हो । उत्तर कोरियाकै सवालमा ऊ भ्रष्ट मुलुकको सिरानतिर पर्छ । विविध मसिना मुद्दामा अल्झिँदा कम्युनिस्टको आफ्नो मूल एजेन्डा पन्छाएर दलीय आन्तरिक संघर्षमा बढी ऊर्जा खर्चिनुपरेको बाध्यता टार्न अब कस्तो कसरत गर्नुपर्ने हो, यसबारे उनीहरू स्वयंलाई पनि पत्तो नहोला । यहाँनेर, सैद्धान्तिक गुणको परिष्करणका कारण मुलुकी व्यवस्थामा फितलो हुनु उनीहरूको खास कमजोरी बन्दै गर्दा मूलधारको विश्व शासनबाट क्रमशः हुँदै गरेको कम्युनिस्टको बहिर्गमनको कारक पनि आजका कम्युनिस्टले नै रुचाएको सैद्धान्तिक परिष्करणलाई मान्नुपर्ला । तर, संस्थागत हुँदै गरेको कम्युनिजमको गुण ह्रासोन्मुख हुनु र शासकीय खराबी देखिनु केवल संयोग मात्रै त पक्कै पनि नहोला ।

त्यसो त कम्युनिस्ट र लोकतन्त्रको समानान्तर अभ्यास भएको मुलुकमा कम्युनिजम झांगिँदै जाँदा लोकतन्त्र कमजोर भएको ठानियो । यी दुई एकैसाथ अघि बढ्न नसक्ने बुझाइ पनि स्थापित भए । सामाजिक–आर्थिक शासकीय सुधार अब चुनावी एजेन्डा मात्रै रहे, कार्यनीति रहेन । खाँटी कम्युनिस्टले बुझ्दै र बुझाउँदै आएको मूल सिद्धान्त पनि अब उनीहरूको रहेन । राष्ट्रवादी एजेन्डा पनि अन्ततोगत्वा सत्ताप्राप्तिको एउटा भरपर्दो हतियार बनेको देखियो । कम्युनिस्टको संस्थाकरणमा गैरकम्युनिस्टको सैद्धान्तिक देखासिकीले प्रभाव पार्नु हुँदैनथ्यो नै, त्योभन्दा बढी आन्तरिक शक्तिसंघर्ष समस्याजनक भइदियो । नेपालका कम्युनिस्ट गैरकम्युनिस्ट बढी देखिँदा गैरकम्युनिस्टलाई बेफाइदा त भएको होला, तर यसको सबैभन्दा बढ्ता घाटा कम्युनिस्टलाई नै हुने हो । नेपालमा चामत्कारिक हिसाबले संस्थागत हुन थालेको कम्युनिजम कम्युनिस्टकै कारण स्खलित हुुनुको दोष अब कसको थाप्लोमा खन्याउने ? आज कम्युनिजम अभ्यास भएको समाजमा कम्युनिस्ट सिद्धान्तले व्याख्या गरेजस्तो आर्थिक असमानताका फाँच साँघुरिएका छैनन्, बरु अनपेक्षित रूपले फैलिँदै गएको देखिन्छ ।

धनी र गरिबको दूरी तन्किँदा धनी थप धनी बन्दै गएको र गरिबको गरिबी चुलिँदै गएको तथ्य नकार्न कसले सक्छ ? फलतः कम्युनिजमको सैद्धान्तिक गुण कमजोर हुँदै गएको नजिर स्थापित भयो । किनभने, शासकीय गुणमा अपेक्षाकृत संस्थागत सुशासन अभ्यासका खातिर नैतिक शासकीय सशक्तिकरण, आत्म अनुशासन र शासकीय अभ्यासमा सामूहिक स्वार्थको प्रवद्र्धन कम्युनिजमका अनिवार्य सर्त मानिएका हुन् । तर, कम्युनिस्ट शासकको दबदबा रहेका मुलुकमै हुनुपर्ने सुशासनका हरित सूचकमाथि रातो घेरा लाग्दै भ्रष्टाचारको ग्राफ अनपेक्षित रूपमा उकासिनुलाई पक्कै पनि शासकीय संयोग मात्रै मानिदिने छुट छैन । यस्तो नतिजाका लागि मुलुकी बन्दोबस्तीका प्रशासनिक संयन्त्र दलीयकरण गराइने बदनियतलाई कम्युनिजम आफूले पनि छुट त पक्कै पनि दिँदैन ।

अर्कोतर्फ, कम्युनिजमकै रेखदेखमा शासकीय नीतिगत भ्रष्टाचारले फैलिने थप सुविधाजनक आयतन प्राप्त नगर्नुपर्ने थियो । कम्युनिजम अभ्यासरत मुलुकमा क्रोनी क्यापिटालिज्म फस्टाउनुलाई एकैक्षण स्वाभाविकै मानिदिने हो भने पनि राष्ट्रिय हितविपरीत सार्वजनिक सम्पत्तिमा निजी व्यावसायिक घरानाको रजगज र भ्रष्टाचारको कठोरतम रूपले संस्थागत हुने सुविधा प्राप्त गरेको दृश्य कम्युनिस्ट आँखाले टुलुटुलु हेर्ने छुट छ कि छैन ? यस्तो परिस्थितिमा सैद्धान्तिक हिसाबको कम्युनिस्ट गुण बाँकी नै छ भनेर रोइलो गर्दा कम्युनिजम बाँच्ने पनि होइन होला ! यति हुँदै गर्दा आजका कम्युनिस्ट आफू त्यही खाँटी कम्युनिस्ट नै भएको मिठो स्वैरकल्पनामा रमाउने सुविधाबाट भने वञ्चित ठान्दैनन् ।

त्यही असली सैद्धान्तिक धरातलमा ठडिएको मिथ्या राजनीति बाँचेका कम्युनिस्ट जब मिथ्याकृत हुँदै गरेको रहस्यसित साक्षात्कार हुनेछन्, तिनले आफू कम्युनिस्टबाट सिद्धान्ततः गैरकम्युनिस्ट भइसकेको बुद्धत्व प्राप्त गर्नेछन् । त्यतिन्जेल आफ्ना अघिल्तिर आफू खाँटी कम्युनिस्ट बन्न नसकेको पश्चातापबाहेकका विकल्प सम्भवतः नरहलान् ! तसर्थ, ठिमाहा बन्न नदिई खाँटी कम्युनिजम जोगाउने हो भने वा मानक गुणको कम्युनिस्ट रहने हो भने पनि सैद्धान्तिक मिथ्याकरणको सिलसिला भंग नगरी सम्भव छैन । त्यसका लागि आज अभ्यास गर्दै गरिएको मिठो शासकीय राजनीतिक स्वैरकल्पनाबाट बाहिर निस्किन जरुरी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.