संसद पुर्नवहाली, ‘न्यायकाे जित हाे’ : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट सर्वोच्च अदालतले संसद पर्नवहाली गरेकाे फैसलाप्रति सन्तुष्टि जनाउदै न्यायकाे जित भएकाे बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय बदर गरिदिएको फैसलाबारे सुदूर आवाज अनलाइनसँगकाे प्रतिकृर्यामा मुख्यमन्त्री भट्टले ‘न्यायकाे जित’ भएकाे बताएका हुन् ।
देशकाे कार्यकारी प्रमुखले मनलाग्दी संविधान विपरित चालेकाे कदम न्यायालयले बदर गरिदिएर अहिलेसम्म जनताले गरेकाे आन्दाेलनकाे जित भएकाे भन्दै उनले न्याय मरेकाे छैन भन्ने सन्देश गएकाे बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।
रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको थियो ।