‘ओलीलाई तीन वर्षसम्म सम्झाउदा नमानेपछि सडकमा आयाैं’: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत तीन वर्षमा केपी ओलीलाई तह लगाउन नसकेको स्वीकार गर्दै आत्मालोचना गरेका छन् । सो पार्टीले शुक्रबार राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामात्र नभई यो संविधान र शान्ति प्रकृयालाई नै विघटन गर्न खोजेको प्रस्ट पारे ।
केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्ने काम भयो भने देश बर्बादीतर्फ जाने उल्लेख गर्दै प्रचण्डले अराजकताको साक्षी कोही पनि नबन्ने विश्वास आफूले लिएको बताए । प्रधानमन्त्री ओलीलाई ‘उल्टो खोपडीको मान्छे’ संज्ञा दिँदै प्रचण्डले भने, ‘संविधान आइसियुमा छ, मर्ने हो कि बाँच्ने हो भन्ने अवस्था छ, ओली हाँस्ने र हसाउँने काममा हुनुहुन्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि वाम गठबन्धन बनाएर झण्डै दुई तिहाई बहुमत हासिल गरेपछि देशको आर्थिक विकासमा केन्द्रित हुने गरी पार्टी एकता गरिएको तर यस अवधिमा आफूहरुले केपी ओलीका गलत कृयाकलाप र स्वेच्छाचारी प्रवृत्तिलाई रोक्न नसकिएको उनले बताए ।
‘हामीले तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं,’ उनले भने, ‘उहाँका केही कुरा मानिदिएर पार्टी पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेको हो तर केपीका गलत प्रवृत्तिविरुद्ध कडा तरिकाले संघर्ष गर्न सक्नु पर्थ्यो, हामीले गर्न सकेनौं, यसमा म तपाईहरुसामु आत्मालोचना गर्छु ।’