सुदूरपश्चिम सरकार मन्त्रीमण्डल बिस्तारमा, आकँक्षीहरु दाैडधुपमा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकाे मन्त्रीमण्डल विस्तार हुने भएकाे छ । पछिल्लाे समय सत्तारुढ नेकपामा बिवाद बढ्दै गएपछि नेतृत्व बिहीन बनेका दुई मन्त्रालयमा आकँक्षीकाे दाैडधुप पनि बढ्दै गएकाे छ ।
केन्द्रहुँदै स्थानीय पालिकासम्मै दुई समुहमा विभक्त नेकपा (प्रचण्ड-नेपाल) समुहकाे बहुमतमा रहेकाे सुदूरपश्चिम प्रदेश सरकारकाे मन्त्रीमण्डलमा पर्न यतिबेला प्रदेश सांसदहरु उच्च तहका नेतासँगकाे लविङमा लागेका देखिन्छन् । मन्त्रीकाे राजिनामापछि खाली रहेकाे आर्थिक मामिला तथा याेजना मन्त्रालय तत्कालिन माओवादी केन्द्र पक्षकाे भागमा रहेकाे थियाे भने भाैतिक पूर्वाधार विकास मन्त्रालय तत्कालिन एमालेकाे । त्यही अनुसारले मन्त्रीमण्डल विस्तारकाे तयारीमा प्रदेश सरकारले छलफल चलाईरहेकाे मुख्यमन्त्री सचिवालयले बताएकाे छ ।
स्राेतका अनुसार अहिलेकाे माैजुदा मन्त्रालय पनि फुटाएर ११ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने गरि छलफल भैइरहेकाे छ । संघीय सरकारले चलाएका पाँच/छ विषयगत मन्त्रालय मिलाएर प्रदेशमा एउटै पारिएकाे र सगठनात्मक रुपमा विस्तार हुँदैजाँदा प्रदेश सरकारलाई अहिले कामकाे बाेझ पनि बढ्दै गएकाले आवश्यक्ता अनुसार मन्त्रालय थप हुनसक्ने सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले बताए ।
‘संविधान अनुसार प्रदेशसभामा कायम कुल प्रदेशसभा सदस्यको २० प्रतिशत नबढ्नेगरि मन्त्रीपरिषद् विस्तार गर्न सकिन्छ,’ शाहले भने, ‘हामी कहाँ ५३ जना प्रदेशसभा सदस्य भएकाले ११ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्न मिल्छ।’ ‘हामी छलफलमा छौं, मन्त्रीका लागि सांसदले आकांक्षा राख्नु स्वाभाविक हो । खाली रहेका दुई मन्त्रालय र अन्य सांसदहरू पनि अटाउने गरी हामी निर्णय गर्छौं,’ शाहले भने ।
मन्त्री बन्ने दाैडमा आधा दर्जन बढी
माैजुदा मन्त्रीमण्डललाई विस्तार गरेर ११ सदस्यीय बनाउन र आफुले मन्त्री पाउनुपर्ने भन्दै आधा दर्जनबढी सांसदहरु उच्चस्तरका नेतासँग लविङ गरिरहेका छन् । स्रोतका अनुसार नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, पूर्वमन्त्री दीर्घ सोडारी, प्रदेश सभा सदस्यहरु मानवहादुर धामी, देवकी मल्ल, पूर्णा जोशी वीरमान चौधरी, शान्ति नेपाली लगायत मन्त्रीका आकांक्षी हुन्।
तर, कार्यकर्ता पन्तिमा भाैतिकमा तारा लामा तामाङ र अर्थमा मानवहादुर धामी ल्याएर अन्य तीन/चार जनालाई राज्यमन्त्री बनाए राम्राे हुने चर्चा छ ।