खबर नपाएपछि प्रधानमन्त्रीको स्वागत कहाँ गर्ने ? :मुख्यमन्त्री सचिवालय
धनगढी । नेकपा पार्टी फुटकाे संघारमा आफ्नाे गुटका कार्यकर्तालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री केपी ओलीकाे स्वागतमा सुदूरपश्चिमका मुख्यमन्त्री नगएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आलोचना हुन थालेपछि मुख्यमन्त्री त्रिलाेचन भट्टकाे सचिवालयले खबर नपाएपछि स्वागत गर्न नगएकाे प्रष्टाएकाे छ ।
प्रधानमन्त्री धनगढी आउँदा मुख्यमन्त्री लगायत प्रदेश सरकारका मन्त्रीहरुलाई कुनै जानकारी नदिएको भन्दै मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले प्रतिप्रश्न गरे -खबर नपाएपछि प्रधानमन्त्रीको स्वागत कहाँ गर्ने ? प्रदेश मन्त्रालयका सचिवहरुलाई भेट्न खबर दिइएकाे तर, सरकारका मन्त्रीलाई कुनै खबर नभएकाले स्वागत गर्ने तथा भेट्न नगएकाे ओलीकाे भनाई छ । कैलाली प्रशासनमार्फत गाडी माग भएकाेले प्रधानमन्त्रीलाई गाडीकाे व्यबस्था गरिदिएकाे उनले बताए ।
यसअघि उनले फेसबुक मार्फत नै जवाफ दिदै पार्टीको प्रदेश कमिटिको भेलामा आउँदा औपचारिक खबर समेत नभएको उल्लेख गरेका छन्। ‘प्रदेशमा पार्टीको भेलामा आउदा समन्वय र औपचारिक खबर पनि गर्नु नपर्ने तर शिष्टाचार भेट गर्नुपर्ने, नगरे संस्कारहिन हुनुपर्ने। त्यसो नगर्दा प्रदेशसभा र सरकार विघटन गर्नुपर्ने कस्तो तर्क, अनि कस्तो सनक।’
उनले ८/८ महिनासम्म मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण कामका लागि प्रधानमन्त्रीले समय समेत नदिएको आरोप लगाएका छन्।