Dashain Suvakamana

अमेरिकी संसदभवनमा गोली चल्याे: एकको मृत्यु, वासिङ्टनमा कर्फ्यू

अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ । यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ । अमेरिकी अधिकारीले यसको घोषणा गरेका हुन् । क्यापिटल भवन, संयुक्त राज्यको संसद भवन हो ।

क्यापिटलभित्र उपस्थित संवाददाताका अनुसार जब सुरक्षाबलका प्रमुखले यसबारे जानकारी दिए तब सांसदले ताली बजाएका थिए । डोनल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरिदिए । यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको तियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो ।

सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे ।  यसका कारण बहस बीचमा नै रोक्नुपर्यो ।डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । यतिबेला केही प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भयो । स्थिती अनियन्त्रित भएपछि नेशनल गार्डलाई क्यापिटल पठाइयो ।

रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ । बीबीसीले ती महिलाबारे कुनै जानकारी नभएको बताएपनि द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।

जो बाइडेनले भने, ‘यो विद्रोह हो’

अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले विलमिंगटन, डेलावेयरबाट देशलाई सम्बोधन गरे र ट्रम्प समर्थकलाई भीडबाट पछि हट्न र लोकतन्त्रको कामलाई अघि बढ्न दिन आह्वान गरे । उनले भने, ‘यो कुनै विरोध होइन । यो एउटा विद्रोह हो । डोनल्ड ट्रम्प अघि बढ्नुहोस् र टिभीमा गएर यो घेराबन्दीलाई समाप्त गर्न माग गर्नुहोस् । अति नै भयो ।’

सम्बोधनपछि जो बाइडेनले ट्वीट गर्दै डोनल्ड ट्रम्पलाई आफ्ना समर्थकलाई हट्न अपिल गरिदिन माग गरे ।

अर्को एउटा ट्वीटमा उनले भने, ‘क्यापिटल बिल्डिङमा केही मानिसहरुले जे गरे त्यो कानून नमान्ने अतिवादी मानिसहरु हुन् । उनीहरु राजद्रोह हुन् ।’

ट्रम्पले जारी गरे भिडियो सन्देशः

त्यसपछि राष्ट्रपति ट्रम्पले ट्वीटरमा एउटा भिडियो जारी गर्दै प्रदर्शनकारीलाई घर फर्कन अपिल गरे । उनले भने, ‘एउटा चुनाव भयो जुन हामीबाट चोरियो । त्यो एउटा जबर्जस्ती गरिएको चुनाव थियो र यो कुरा सबैलाई थाहा छ । विशेषगरी दोस्रो पक्षलाई । तर अब सबैजना घर जानुपर्छ । हामीले शान्ति स्थापित गर्नुपर्छ । हामीले कानून व्यवस्था स्थापित गर्नुपर्छ । कसैलाई क्षती पुगोस् भन्ने हामी चाहँदैनौं ।’

यस्तै, ट्वीटरले डोनल्ड ट्रम्पको यो भिडियो सन्देशमाथि लाइक, सेयर र जवाफ दिने विकल्प बन्द गरेको छ । भिडियोको मुनि लेखिएको सन्देशमा ट्वीरले भनेको छ, ‘चुनावमा गडबडीको आरोप विवादित छ । र यो ट्वीटलाई रिप्लाई, रिट्वीट वा लाइक गर्न सकिनेछैन किनभने यसबाट हिंसाको खतरा छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.