अमेरिकाले शान्ति सम्झौता भएयता इरानमा लगातार दोस्रोपटक हवाई हमला गरेको छ। ट्रम्पले आफ्नाे ज्यान पनि इराकी आक्रमणकाे खतरामा रहेकाे भनेलगत्तै अमेरिकी सेनाले बुधबार अबेर रातिदेखि इरानमा हवाई हमला गरेको हो।
इरानका कोनारक र चाबहारलगायत धेरै सहरमा अमेरिकी सैन्य हवाई आक्रमण जारी छ। इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार दक्षिणपूर्वी इरानको इरानसहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ। सिस्तान र बलुचिस्तान प्रान्तका उपगभर्नर र इरानसहरका गभर्नरले स्थानीय समयअनुसार बुधबार राति १२:३० बजेतिर सहरभरि चारवटा ठुला विस्फोट सुनिएको बताएका छन्।
इरानको एकमात्र समुद्री बन्दरगाह र एक महत्त्वपूर्ण विश्वव्यापी व्यापार केन्द्र सञ्चालन गर्ने चाबहार फ्रि जोन अर्गनाइजेसनका प्रमुखले चाबहारका क्षेत्रमा अमेरिकाको आक्रमणपछि अधिकारीहरूले गोदामका सवारीसाधन हटाउन थालेको बताएका छन्। उता अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार होर्मुज स्ट्रेटमा जहाजहरूमा भएको आक्रमणको बदलामा यो हमला गरिएको हो।
अमेरिकाका राष्ट्रपति ट्रम्पले बुधबार नेटो शिखर सम्मेलनका क्रममा बुधबार राति इरानविरुद्ध अर्को ठुलो आक्रमण गरिने बताएका थिए। यसअघि उनले द्वन्द्व अन्त्यका लागि इरानसँग गरिएको समझदारी ‘समाप्त’ भएको घोषणा गरेका थिए।