धनगढी । डडेल्धुरा लगायत सुदूरपहाडका गाउँमा अत्याअवस्यक पूर्वाधारहरु नपुग्दा स्थानीय बासिन्दा बसाइँ सराई गर्नेक्रम बढ्दै गएकाे भन्दै स्थानीयहरुले मन्त्री तथा सांसदहरुसँग गुनासाे गरेका छन् । सडक, अस्पताल लगायतका भाैतिक संरचना निर्माणमा भइरहेको ढिलाइ, गुणस्तरहीन काम तथा पटक–पटक म्याद थपिए पनि काम सम्पन्न नभएको भन्दै उनीहरुले पूर्वाधार विकासमन्क्री सुनिल लम्सालसमक्ष गुनासो गरेका हुन् ।
डडेल्धुराकाे भत्काँडाँमा स्थानीयले गन्यापधुरा गाउँपालिका–१ भात्काँडादेखि बडाल हुँदै रेलसम्मको सडक निर्माण वर्षौं बितिसक्दा पनि स्तरोन्नति हुन नसक्दा सास्ती खेप्नुपरेको बताए थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव टंकप्रसाद अवस्थीले गाउँमा सडकलगायतका आवश्यक पूर्वाधार नपुग्दा स्थानीय बसाइँ सर्न बाध्य भइरहेको भन्दै ‘वर्षौंदेखि सडक निर्माणको आश्वासन पाए पनि स्थानीयले सहज आवागमनको सुविधा पाउन सकेका छैनौं,’ उनले भने, ‘आधारभूत सुविधाकै कमीले यहाँबाट बसाइँ सर्ने क्रम घटेको छैन ।’
स्थानीयले मन्त्री लम्सालसित सडक डिभिजन कार्यालयले मन्त्री वा पूर्वप्रधानमन्त्री गाउँ आउने बेला मात्रै सडकका खाल्डाखुल्डी पुर्ने र अन्य समयमा सडक लथालिङ अवस्थामा छाड्ने गरेको गुनासो गरेका छन् । चुनावका बेला सडक निर्माणको विषयलाई प्रचारको माध्यम बनाइए पनि त्यसअनुसार काम नभएको स्थानीयको गुनासो छ । स्थानीयका गुनासा सुन्दै मन्त्री लम्सालले सडकको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।