बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो ।
बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक घुइँचो हुने भन्दै अगाडिदेखि नै सुरु गरिएको बताए । बडीमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुन्छ । मुख्य पुजारी पाध्यायका अनुसार गत वर्ष मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए ।
हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ आउने परम्परा छ । डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहित टोली यसअघि साउन २८ गते नै हिँडिसकेको छ ।
समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित भू–स्वर्ग बडीमालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई धार्मिक आस्थाको पनि अद्भुत सङ्गम हो । हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरे पनि अन्य समयमा पनि पर्यटक बडीमालिका पुग्ने गरेका छन् । यहाँको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वास रहिआएको छ ।