इरान र अमेरिकाबिच जारी तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको समझदारीपत्र (एमओयू) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले हस्ताक्षर गरेका छन्। इरानको विदेश मन्त्रालय र ह्वाइट हाउसले समझदारीपत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर सम्पन्न भएको पुष्टि गरेका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार हस्ताक्षर डिजिटल रूपमा भइसकेकाले स्विट्जरल्यान्डको जेनेभामा कुनै औपचारिक हस्ताक्षर समारोह आयोजना गरिने छैन। यद्यपि दुवै पक्षका वार्ता टोलीहरू शुक्रबार जेनेभामा भेट्ने कार्यक्रम यथावत् रहेको छ। कूटनीतिक स्रोतका अनुसार दुवै पक्ष स्ट्रेट अफ हर्मुज पुनः खोल्न सहमत भइसकेकाले समयअघि नै सम्झौता कार्यान्वयन गर्ने प्रयास भएको हो।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले सामाजिक सञ्जाल एक्समा ट्रम्पले सम्झौतामा हस्ताक्षर गरिरहेको भिडियो सार्वजनिक गर्दै यो सहमतिले दिगो शान्तिको बाटो खोल्ने र स्ट्रेट अफ हर्मुज पुनः खोल्न अनुमति दिने बताएका छन्। भिडियोमा ट्रम्पले हस्ताक्षर गर्दै भनेका छन्, ‘म तपाईंहरूलाई भन्न सक्छु, यो त्यति सजिलो थिएन।’ पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि अमेरिका र इरानका नेताहरूले समझदारीपत्रमा हस्ताक्षर गरेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै पहिलो चरणमा इरानले तत्काल स्ट्रेट अफ हर्मुज खोल्ने र अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी तत्काल हटाउने बताएका छन्।
अब शुक्रबार स्विट्जरल्यान्डमा हुने अमेरिका–इरान प्रतिनिधिमण्डलको बैठक भने पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हुने अपेक्षा गरिएको छ। उक्त वार्तामा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स र इरानी संसद्का सभामुख मोहम्मद–बागेर घालिबाफ नेतृत्वको टोली सहभागी हुने बताइएको छ। बैठकमा मुख्य रूपमा इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता सुरु गर्ने विषयमा छलफल हुने स्रोतहरूले बताएका छन्।