
धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती गरेर १२ लाखसम्मको कारोबार गर्ने लक्ष्यसहित झापा बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् ।
विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक प्रयासमा १० कट्ठा जमिनमा सयपत्रीखेती गरेका हुन् । ‘कृषि कम्पास’ समूह गठन गरेर सुरु गरिएको उनीहरूको यो प्रयास परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि नयाँ सम्भावना बनेको छ । समूहले उक्त जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको थियो । फूलखेतीका लागि रु पाँच लाख ५० हजार लगानी गरेका उनीहरूले यसबाट करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन् ।
उत्पादित माला बिक्रीबाट कम्तीमा रु १० देखि १२ लाख आम्दानी हुने उनीहरूको अनुमान छ । अहिले फूल टिपेर माला उन्ने र तयार भएका माला कोल्डस्टोरमा भण्डारण गर्न थालिएको छ । समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जमिनमा धानखेती गर्दा करिब ३० मन उत्पादन हुन्थ्यो । त्यसको हालको बजार मूल्य करिब ५० हजारमात्रै पर्छ । धानखेतीबाट हुने आम्दानीभन्दा फूलखेतीबाट कैयौँ गुणा बढी आम्दानी हुने देखिएपछि उनीहरूले खेतीको विकल्प रोजेका हुन् ।
