Dashain Suvakamana

नवउद्यमी सम्मेलन भविष्य निर्माण गर्ने संकल्प होस्: मुख्यमन्त्री भट्ट

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम नवउद्यमी सम्मेलनलाई समन्वयात्मक कार्यक्रमका रूपमा मात्र नभई प्रदेशको भविष्य निर्माण गर्ने सोच, सम्भावना र संकल्पका रूपमा आफूले लिएको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालय इन्क्युबेसन सेन्टरले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम नवउद्यमी सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।

परिणाममुखी व्यावसायिक योजना निर्माण गरी निर्वाहमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिदै उनले सुदूरपश्चिम प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्र जोखिममा रहेकोले विकास निर्माणको परम्परागत मोडेल परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।

नवीन सोच र नवप्रवर्तनमा आधारित आयोजनाहरू निर्माण गरी आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेमा जाेड् दिदै उनले जलवायु परिवर्तनका कारण उत्पन्न हुने बाढी, पहिरो तथा अन्य विपद् र मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जना हुने आर्थिक मन्दीलगायतका चुनौतीले अर्थतन्त्रमा असर पारिरहेको बताए । यस्ता चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

उनले सुदूरपश्चिमलाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार नीति, नियम तथा कार्ययोजना निर्माणमा केन्द्रित रहेको भन्दै मुख्यमन्त्री भट्टले निजी क्षेत्र र गैरसरकारी क्षेत्रसँगको साझेदारीलगायत विकासका विभिन्न प्रक्रियामा प्रदेश सरकार खुला रहेको स्पष्ट पारे।

नवउद्यमशीलता, नवप्रवर्तन र व्यावसायिक योजनामार्फत आर्थिक सम्भावनाको उपयोग गर्न सके सुदूरपश्चिमलाई समृद्धिको दिशामा अघि बढाउन सकिने उनको भनाइ थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.