‘एक–दुई दिनभित्रै सरकार विस्तार हुन्छ,’ मुख्यमन्त्री खगराज भट्ट

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्ने अन्तिम तयारी भइरहेको छ । मुख्यमन्त्री खगराज भट्टले मन्त्रीपरिषद विस्तारकालागि आफुहरु आन्तरिक र अन्तिम गृहकार्यमा रहेकाे बताएका छन् । गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भट्टले बुधवार प्रदेशसभाबाट बिश्वासकाे मत लिएपछि मन्त्रीमण्डललाई पूर्णता दिन लागेकाे बताएका हुन् ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिएलगत्तै सरकार विस्तारलाई पूर्णता दिने बताउँदै आइरहेका थिए । ‘एक–दुई दिनभित्रै सरकार विस्तार हुन्छ,’ मुख्यमन्त्री खगराज भट्टले भनेका छन्, ‘हामी आन्तरिक अन्तिम गृहकार्यमा छौँ ।’ 

मन्त्री सिफारिस गर्न केन्द्रले यसअघि नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी ‘उत्सव’ र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई जिम्मेवारी दिएको थियो । तीन दलीय कार्यदलले अन्तिमसम्मको छलफल गर्दा पनि सर्वसम्मत हुन नसकेपछि अहिले आकांक्षीहरूको नाम केन्द्रलाई पठाएकाे र त्यहीँबाट आएको नामलाई स्वीकार गर्ने गरी सहमति भएको बताइएकाे छ ।

‘हामीले निरन्तर छलफल गरेका थियौं । सबैको चाहना व्यक्त गर्नुभयो । हामीले इच्छा व्यक्त गर्नुभएकाहरू सबैको नाम पठाइसकेका छौं,’ इन्चार्ज भानुभक्त जोशीले भने, ‘चाँडै नाम केन्द्रबाट आओस् पनि भनेका छौं ।’ प्रदेश इन्चार्ज जोशीका अनुसार पनि केन्द्रबाट आएका नामलाई तत्काल मन्त्रीमा नियुक्त गरेर सरकार विस्तार गरिने छ । अव सरकारमा नियुक्त हुन बाँकी ३ मन्त्री र २ राज्यमन्त्रीका लागि कार्यदलले १२ जनाको नाम सिफारिस गरेको छ ।

यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री भट्टले आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, सामाजिक विकास मन्त्रीमा सन्तोषी थापा शर्मालाई र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारीलाई नियुक्त गरेका थिए । एमालेको तर्फबाट आर्थिक मामिला राज्यमन्त्रीमा जानकी बम ऐर नियुक्त भइसकेकी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.