धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अस्पतालमा विरामीले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्यसेवा पाओस् भनेर आफु मुख्यमन्त्री भएसँगै प्रदेश सरकारले पहिलाे निर्णय गरेकाले साेही बमाेजिम जिम्मेवारी निर्वाह गर्न सराेकारवालालाई निर्देशन दिएका छन् । आज धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले सबै जिल्लामा रहेका सरकारी अस्पतालले अहिलेकाे भन्दा आमूल परिवर्तन गर्नुपर्ने बताएका हुन ।
आइतबार अस्पतालको आकस्मिक कक्ष, डायलायसिस कक्ष,आईसीयू, गाइने वार्ड,फार्मेसीलगायतको स्थलगत अनुगमन गरेका उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अस्पतालको अवस्था हेर्दा आमूल परिवर्तन गर्नुपर्ने खालको रहेको बताएका हुन् । प्रदेश सरकारकाे बजेटले भ्याएभन्दा बढी रकम दिन तयार रहेकाे तर अस्पतालमा कार्यरत कमीृहरुले ढीलासुस्ती र लापरवाही हुन नहुने बताए ।
‘प्रचारका लागि यो अनुगमन होइन् । हामीले एक्सनमा जाने गरि यो अनुगमन गरेका हौँ । हामीले बिरामीका तन्नादेखि शौचालयसम्म सबै हेर्यौँ’ उनले भने ‘अझै बुझ्न बाँकी छ । जे देखिएको छ, आमूल परिवर्तन गर्ने खालको छ ।’ हरेक पन्ध्र/पन्ध्र दिनमा अस्पतालको अनुगमन गरिने बताउँदै उनले भने ‘यस पटक जानकारी गराएर अनुगमन गरेका छौँ । आगामी दिनमा छड्के अनुमन गर्छौँ । त्यो पन्ध दिन कहिले हुन्छ कसैलाई थाहा हुँदैन् ।’
त्यस्तै, मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पताल समग्र सुधारको कार्ययोजना एक हप्ता भित्र प्रदेश सरकारलाई पेस गर्न अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.हेमराज पाण्डेयलाई निर्देशन दिए । उनले अस्पतालमा कार्यरत चिकित्सकले कसले पूरा कार्यालय समयसम्म ड्युटी गर्छन्, कसले गर्दैनन् त्यसको जानकारी दिन पनि निर्देशन दिए ।
त्यस्तै, सुशासनका लागि कसैसँग पनि सम्झौता नगरिने बताउँदै मुख्यमन्त्री भट्टले भने ‘जनतालाई दुःख दिने कुरामा कुनै सम्झौता हुँदैन् । सेती प्रादेशिक अस्पताल देशकै नमूना अस्पताल बनोस् । जनताका गुनासा सुन्न नपरोस् ।’
त्यस्तै,सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्र सरकारको प्राथमितामा रहेको बताए । उनले भने ‘सुदूरपश्चिमका सबै अस्पताललाई आधुनिकीकरण गर्दै लैजाने योजना रहेको छ ।’ अनुगमनमा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा समेत सहभागी थिइन् ।