धनगढी। सरकारलाई दिएको समर्थन नेकपा (एमाले) ले फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सत्ता जाेगाउने अन्तिम कसरतमा छन् । प्रदेश तहमा बिफल उनी नेतृत्व रिझाउन काठमाडौँ प्रस्थान गरेका हुन् ।
प्रदेश सरकारलाई नेकपा (एमाले) ले दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक अवस्थाबारे पार्टी नेतृत्वसँग छलफल गर्न उनी बिहीबार काठमाडौँ गएकाे बताइएकाे छ । मुख्यमन्त्री शाहले नेपाली कांग्रेसका शीर्ष नेतासँग प्रदेशको पछिल्लो राजनीतिक परिस्थिति, सरकारको आगामी रणनीति तथा विश्वासको मत लिने वा राजीनामा दिने विकल्पबारे परामर्श गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
प्रदेश सरकारको बजेट विवाद चुलिएपछि मुख्यमन्त्री शाहले एमालेबाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका थिए। त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको हाे। संवैधानिक व्यवस्थाअनुसार समर्थन गुमाएको सरकारले तोकिएको समयभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेससँग हाल १८ सांसद मात्र रहेका छन् । यता, एमाले र नेकपाबीच सम्भावित सहकार्यबारे आन्तरिक छलफल चलिरहेका बेला मुख्यमन्त्री शाहको काठमाडौँ भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।