धनगढी । कांग्रेस नेतृत्वमा प्रदेश सरकारमा रहेकाे एमाले सांसदहरू बजेटमाथि नै विरोध जनाउन थालेपछि अहिले सुदूरपश्चिम प्रदेशकाे बजेटबारे अन्योल सिर्जना भएको छ। केही दिनअघि काँग्रेस एमालेका केन्द्रिय पदाधिकारी धनगढी आएर छलफल गर्दापनि उनीहरूबाट निकास ननिस्किएपछि कांग्रेस शीर्ष नेतृत्वले एमालेका अध्यक्षमार्फत बजेट विवादको गाँठो फुकाउने प्रयास गरिरहेका हुन। सम्भवत: उक्त छलफल आजै हुने बताइएकाे छ ।
यसैबीच मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस नेतृत्वले बजेटबारे जानकारी लिन हिजो काठमाडौँ बोलाएको थियो। हिजो सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, महामन्त्री गुरुराज घिमिरे तथा सहमहामन्त्रीहरू प्रकाश रसाइली र उदयशमशेर जबरालगायतसँग मुख्यमन्त्री शाहले बजेटको अवस्था र एमालेको अडानबारे जानकारी गराएका थिए।
सभापति थापाले सत्ता साझेदार नेकपा (एमाले)सँग थप छलफल र परामर्श गरेर सहमतिका आधारमा अघि बढ्न मुख्यमन्त्री शाहलाई सुझाव दिएका थिए। तर, मुख्यमन्त्री शाहले यस विषयमा सुदूरपश्चिम प्रदेशमा अहिले एमाले छलफल गर्न तयार नभएको बताएपछि केन्द्रमै यस विषयमा आज निर्णायक कुरा गर्ने तयारी भइरहेको कांग्रेस स्रोतले बताएको छ।
यसअघि कांग्रेस–एमालेले धनगढीमा प्रतिनिधि पठाएर छलफल गराउँदा पनि सहमति नभएपछि आज सभापति र उपसभापतिले संयुक्त रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कांग्रेस उच्च स्रोतले बताएको छ। सुदूरपश्चिममा एमालेसँगको सहकार्यका विषयमा पनि आज निर्णायक छलफल हुने जनाइएको छ।
एमाले सरकारमा पनि रहने, सबैभन्दा धेरै बजेटमा पनि हिस्सेदारी बन्ने र त्यही बजेटलाई फेरि पुनर्लेखन गर्नुपर्ने भन्दै विरोध गर्ने विषयले कांग्रेस नेतृत्व चिढिएको छ। एमाले नेतृत्वमा रहेका प्रदेशहरूमा कांग्रेसले सहज रूपमा बजेट पारित गर्न दिएको तर कांग्रेसले नेतृत्व गरेको प्रदेशमा एमालेले बखेडा झिकेको भन्दै सभापति थापाले नै असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक नेताले बताए। आज एमाले अध्यक्षसँगको संवादपछि कांग्रेसले फेरि छलफल गरेर अघि बढ्ने तयारी गरेको उनको भनाइ थियो।
यता प्रदेश सरकारको बजेट समयमै पारित हुन नसके प्रशासनिक तथा विकासका काम प्रभावित हुने भएकाले समयसीमाभित्रै बजेट पारित गर्न कांग्रेसले जोड दिइरहेको छ। मुख्यमन्त्री शाहले बजेटसम्बन्धी विवाद समाधानका लागि आवश्यक परे कार्यदल गठन गर्न आफू तयार रहेको बताइसकेका छन्। तर एमालेले भने बजेट पुनर्लेखन हुनुपर्ने आफ्नो अडान कायमै राखेको छ। यस्तो अवस्थामा कांग्रेस शीर्ष नेतृत्वबाट एमाले अध्यक्षसँग हुन लागेको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
‘सम्भवतः आज सभापति र अध्यक्षबीचको भेटले यी विषय टुंगो पनि लगाउँछ,’ दुवैको भेटबारे जानकार एक नेताले भने, ‘बजेट विवाद उत्कर्षमा पुगिरहेको अवस्थामा कांग्रेस–एमाले गठबन्धन निरन्तर रहने वा नयाँ राजनीतिक कोर्स अघि बढ्ने भन्ने विषयमा पनि छलफल हुन सक्छ।’